राज्यले सबै धर्मलाई न्याय गर्छ – स्वास्थ्य राज्यमन्त्री खापुङ

भक्तपुर, पुस ३
स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले राज्यले सबै धर्मलाई न्याय गर्ने बताउनुभएको छ । भक्तपुर ख्रिष्टियन समाज र ले ख्रिसमस र नयाँ वर्ष २०२२ को अवसरमा भक्तपुरमा शनिवार आयोजित कार्यक्रममा मन्त्री खापुङले संविधानमा नै धर्म निरपेक्ष व्यवस्था गरेपछि सबै धर्मलाई समान व्यवहार गरी न्याय गर्ने दायित्व राज्यको भएको बताउनुभएको हो ।
उहाँले कुनैपनि धर्मका धार्मिक गतिविधि सञ्चालन गर्न राज्यले कुनै अवरोध नगरेको स्पष्ट पार्दै कानुन विपरित धर्म परिवर्तन गराउन नहुने बताउनुभयो ।
कोरोनाको जोखिम अझै रहेको बताउँदैं राज्यमन्त्री खापुङले पुस ४ गते बालबालिकालाई खोप अभियान शुरु हुने भएकाले सबैले आफ्ना बालबालिकाहरुलाई खोप लगाईदिन आह्वान गर्नुभयो । “सरकार सबै नागरिकलाई निःशुल्क खोप दिने तयारीमा रहेको छ । पुस ४ गतेदेखी बालबालिकाहरुलाई खोप अभियान शुरु हुँदैंछ । सबैले आफ्ना बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाऔं,” उहाँले भन्नुभयो ।
कार्यक्रममा जनजाती नेता आङकाजी शेर्पाले राज्यले अझै धर्मका नाममा विभेद गरेको आरोप लगाउनुभयो । उहाँले कुनै धर्मको पर्वमा सार्वजनिक बिदा दिने कुनै धर्मको पर्वमा पर्व मनाउने समुदायलाई मात्र बिदा दिएर राज्यले विभेद गरेको बताउनुभयो । “संविधानले धर्म निरपेक्ष राज्य भन्छ । तर सरकार कुनै पर्वमा सार्वजनिक बिदा दिन्छ । कुनै पर्वमा पर्व मनाउने समुदायलाई मात्र बिदा दिन्छ,” उहाँले भन्नुभयो, “यो राज्यको विभेद हो । यसको अन्त्य हुनुपर्छ ।”
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले नगरवासी ख्रिष्टियनहरुको मृत्यु पश्चात दाहसंस्कारको लागि नगरपालिकाको वडा नं. ६ मा समाधीस्थलको लागि आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बागमति प्रदेशका सांसद डा. राजेन्द्रमान श्रेष्ठले राष्ट्रिय जनगणनामा आफुले कुनै धर्म उल्लेख गर्न नचाहेको बताउँदैं राज्यको कुनै एक धर्मको मात्र पृष्ठपोषणा गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले सबै धर्मको मुल उद्देश्य र लक्ष्य समाजलाई अपराध मुक्त बनाउने भएको चर्चा गर्दै सबै धर्मले एकले अर्काको मूल्य मान्यतालाई सम्मान गर्दै धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम बस्नेतले सबै नागरिकलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता भएको बताउनुभयो ।
भक्तपुर ख्रिष्टियन समाजका अध्यक्ष पासाङ तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमका साथै प्रार्थना गरिएको थियो ।