भक्तपुर प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ विजयी

भक्तपुर, पुस ३
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) भक्तपुर अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्याव्सनको शनिवार सम्पन्न १५ औं जिल्ला अधिवेशनले नवरत्न इंगलिस स्कुल थिमिका प्रिन्सिपल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
नेतृत्व चयनका लागि भएको निर्वाचनमा श्रेष्ठ ७० मतका साथ अध्यक्षमा निर्वाचित भएको हो । अध्यक्षमा उम्मेदवारी दिनुभएका दिपज्योति इंगलिस सेकेण्डरी स्कुलका सेमन्तराज सुवेदीले २८ मत पाएको निर्वाचन समितिले जानकारी दिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा राजन कसपाल विजयी हुनुभएको छ । उहाँले ५७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी कुमार श्रेष्ठले ३९ मत पाउनुभयो । सचिवमा विजय कर्माचार्य ५८ मतका साथ निर्वाचित हुँदा प्रतिद्वन्द्वी डिल्लीराज जोशीले ३९ मत पाउनुभयो । कोषाध्यक्ष पदमा नारायणकृष्ण श्रेष्ठ विजयी हुनुभयो । उहाँले ५७ मत पाउँदा प्रतिस्पर्धी कुमार कट्टेलले ४० मत पाएको निर्वाचन कमिटीले जानकारी दिए । सहकोषाध्यक्ष पदमा लक्ष्मी कुटु निर्वाचित हुनुभयो । उहाँले ५५ मत पाउनुभयो भने टंकप्रसाद सिटौलाले ४३ मत पाउनुभयो ।
अधिवेशनले उपाध्यक्षमा विणा पाण्डे, सहसचिवमा सोमकृष्ण प्रजापति, सदस्यमा मिना महर्जन, सूर्य भण्डारी, लिलानाथ निरौला, खुल्ला सदस्यमा देवानन्द त्वाती, ईश्वरबहादुर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको थियो । यस्तै महाधिवेशन प्रतिनीधिमा सानुराजा कार्कीलाई पनि निर्विरोध प्रतिनीधि छनोट गरेको निर्वाचन कमिटीले जनाएको छ ।