उपकारका ज्येष्ठ सदस्यलाई धार्मिक भ्रमण

भक्तपुर, पुस ३
मध्यपुर थिमि–७ नगदेशस्थित उपकार बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना ज्येष्ठ नागरिक सदस्यहरुलाई धार्मिक अवलोकन भ्रमण गराएको छ । उपकारले शुक्रवार काभ्रेपलाञ्चोकको पनौतीको मुक्तिनाथधाम र बनेपाको चण्डेश्वरी भगवतीको भ्रमण गराएको हो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको धार्मिक भ्रमणमा संस्थाका ३४७ ज्येष्ठ सदस्यहरुमध्ये १९० जनाको सहभागिता रहेको संस्थाका अध्यक्ष कान्छाभक्त घजुले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकहरुमा धार्मिक भ्रमणको चाहना हुने तर घरपरिवारका आफ्नै व्यस्तता र समस्याका कारण उनीहरुको चाहना पुरा हुन नसकिरहेको अवस्थालाई ध्यानमा राख्दै सहकारीले बेला बेलामा यस्ता भ्रमणको व्यवस्था गर्दै आइरहेको संस्थाका संस्थापक अध्यक्ष कृष्णबहादुर घजुले बताउनुभयो ।
“ ‘जन्मदेखि मृत्युसम्म उपकार साकोस घरघरसम्म’ भन्ने नाराका साथ सहकारी अघि बढिरहेको अवस्थामा प्रत्येक मानिस ज्येष्ठ भएपछि उनीहरूमा धार्मिक भ्रमणको चाहना बढ्ने र आफुहरूमा भएका ज्ञान र सिपहरू आफुभन्दा सानालाई बाँड्ने ईच्छा बढि हुने भएकोले समेत सो भ्रमण कार्यक्रमको आयोजना गरेको हो,” उहाँले भन्नुभयो ।