कमलविनायक नगरकोट सडकको निर्माणका लागि चाँगुनारायण नगरपालिकाले आन्दोलन गर्ने

भक्तपुर, पुस २
भक्तपुरको कमलविनायक नगरकोट सडकको निर्माणले गति नलिएपछि चाँगुनारायण नगरपालिकाले दवाब स्वरुप आन्दोलन गर्ने भएको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले शुक्रवार पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
नगरप्रमुख सोमप्रसाद मिश्रले दवाबमूलक कार्यक्रम अन्तर्गत पुस ७ गते सडक निर्माण अलपत्र पर्नुका कारणहरुबारे सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने जानकारी दिनुभयो । त्यस्तै पुस ११ गते जिल्ला प्रशासन कार्यालय घेराउ, पुस १५ गते सडक सुधार तथा विकास आयोजना कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको नगरप्रमुख मिश्रले बताउनुभयो ।
उहाँले ठेकेदार कम्पनीको कार्यालय र निवास घेराउ, काठमाण्डौंको माइतीघर मण्डलामा धर्ना र अरनिको राजमार्गमा चक्का जाम जस्ता आन्दोलन कार्यक्रम तय गरेको जानकारी दिनुभयो । पहिलो तीन दिनको कार्यक्रमले पार्ने प्रभाव र प्रतिक्रियालाई विष्लेषण गरी पछिल्ला कार्यक्रमको मिति तय गरिनेछ, उहाँले भन्नुभयो ।
नगरप्रमुख मिश्र र उपप्रमुख विणा बास्तोलासहितको टोलीले गत कार्तिक १५ गते ३० दिन भित्र सो सडकको निर्माण कार्य सम्पन्न नभए आन्दोलन गर्ने व्यहोरोको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाएको थियो । ‘स्थानीय र सरोकारवालाहरुले दवाब दिएपछि केही काम गरे जस्तो गर्ने, खाल्डाखुल्डी पुर्ने र ग्रेडिङ गरेर झारा टार्ने काम भए । हाल थप भएको म्यादभित्र सडक निर्माण कार्य सम्पन्न गर्न र सम्पन्न नभए ठेक्का रद्ध गर्ने ग्यारेन्टीका लागि आन्दोलन गर्नुपर्ने अवस्था आएको हो,’ उहाँले भन्नुभयो, ‘तसर्थ चाँगुनारायण नगरपालिका सम्पूर्ण नगरवासी, राजनैतिक दल, संघसंस्थाहरु समक्ष दवाब तथा आन्दोलनका कार्यक्रमहरुमा सहभागिता, समर्थन र सक्रिय भूमिका निर्वाश गर्न आग्रह गर्दछु ।’
उहाँले ठेक्का रद्ध गरेर सो सडक निर्माणको जिम्मा नगरपालिकालाई दिन माग समेत गर्नुभयो । ‘अब पनि तोकिएको म्यादभित्र सडक निर्माण सम्पन्न नभए ठेक्का रद्ध गरेर सकिन्छ भने बाँकी बजेट सहित नगरपालिकालाई जिम्मा दिनु । बजेट सकिँदैन भने नगरपालिकाको बजेटले नै हामी निर्माण गर्छौं,’ उहाँले भन्नुभयो ।
कमलविनायकदेखी नगरकोटसम्मको करिव १६ कलिोमिटर लामो उक्त सडक सुधार एवम् बिस्तारको लागि भारतीय निर्माण कम्पनी एआईपिएल र नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सनले संयुक्तरुपमा ठेक्का लिएको थियो । कुल ५२ करोड ९६ लाख रुपैंया लागतको उक्त सडक एआईपिएल र सैलुङ्गले २०७१ जेठमा ३१ करोड ५२ लाख ९२ हजार रुपैंयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७३ असार ३ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
भारतीय बैंक एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण शुरु भएको उक्त सडकको पटक पटक गरी ७ पटक म्याद थप भइसकेको छ । पहिलो पटक एक्जिम बैंकबाट ठेक्का सहमति प्राप्त गर्न प्रक्रियागत ढिलाई भएका म्याद थप भएको उक्त सडकको निर्माण कार्यमा २०७२ सालको भूकम्प, सडक किनारको भौतिक संरचना स्थानान्तरणमा ढिलाई, श्रख कटानमा ढिलाई, निर्वाचन, खरिद नियमावलीमा भएको संशोधन, कोरोना महामारीलगायतका बहानामा पटक पटक म्याद थप हुँदैं आएको छ । सो सडक निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद २०७८ चैत्र मसान्त रहेको छ ।
ठेक्का म्याद थपसँगै लागत समेत बढेको छ । ३१ करोड ५२ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको उक्त सडकको पछिल्लो संशोधित ठेक्का रकम ३५ करोड ८७ लाख १८ हजार रहेको छ । हाल सो सडकको निर्माण करिव ७८ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।