कांग्रेस सहमहामन्त्रीमा डिना, आङदाम्बे र परियार निर्वाचित

भक्तपुर, पुस २
नेपाली कांग्रेसको सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदीबासी जनजातीतर्फ भिष्मराज आङदाम्बे र दलिततर्फ जीवन परियार निर्वाचित हुनुभएको छ ।
सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूहकी उपाध्याय २५३३ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी डा. शेखर कोइराला समूहकी कमला पन्तले २१०५ मत ल्याउनुभयो ।
त्यसैगरी आदीवासी जनजातीतर्फ पनि देउवा समूहका आङदाम्बे २७११ मतका साथ सहमहामन्त्रीमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी कोइराला समूहका विकास लामाले १९१२ मत ल्याउनुभयो ।
दलिततर्फको सहमहामन्त्रीमा भने कोइराला समूहका जीवन परियार निर्वाचित हुनुभयो । उहाँ २२१२ मतका साथ सहमहामन्त्रीमा निर्वाचित हुँदा देउवा समूहका मानबहादुर विश्वकर्माले २१७५ मत ल्याउनुभयो भने स्वतन्त्र उम्मेदवार बन्नुभएका गंगा सुनारले २२९ मत ल्याउनुभयो ।
कांग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ । त्यसमध्ये बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको थियो । बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस–आर्यको शुक्रबार मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।