हनुमान घाटमा सुधारिएको शवदाह गृह निर्माण हुने

भक्तपुर, मंसिर २७
भक्तपुरको प्रसिद्ध एवम् धार्मिक महत्वको हनुमानघाटमा सुधारिएको शवदाह गृह निर्माण हुने भएको छ । भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा धुवाँ र प्रदुर्षण कम हुने तथा दाउराको प्रयोग समेत कम हुने शवदाह गृह निर्माण हुन लागेको हो ।
सो शवदाह गृहको सोमवार शिलान्यास गर्दै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले व्यवस्थित शवदाह समयको माग भएको बताउनुभयो । उहाँले नयाँ प्रविधिसहितको सुधारिएको शवदाह गृहमा शवको दाहसंस्कार गर्न समयको वचत हुनुका साथै हनुमानघाट क्षेत्रको सरसफाई कार्यमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष उकेश कवांले जनताले साँस्कृतिक सम्पदा तथा विभिन्न निर्माण कार्यमा सहयोग गरिरहेको चर्चा गर्दै कम लागतमा गुणस्तरिय निर्माणका लागि उपभोक्ता समिति, कामदार र प्राविधिकहरुले पनि सहयोग पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
पूर्व वडाअध्यक्ष कृष्णगोविन्द खाईजुले हनुमानघाट ऐतिहासिक र सम्पदा क्षेत्र भएकाले यसको व्यवस्थापन, संरक्षण र सरसफाईमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कुल ५७ लाख ५७ हजार ४३३ रुपैयाँको लागतमा निर्माण हुने सुधारिएको शवदाह गृहका लागि भक्तपुर नगरपालिकाले पहिलो चरणमा २५ लाख विनियोन गरेको उपभोक्ता समितिका अध्यक्ष कृष्णगोविन्द लाखाजुले जानकारी दिनुभयो ।
सुधारिएको शवदाह गृहमा शवको दाहसंस्कार गर्दा २ घण्टा भन्दा बढी समय नलाग्ने, परालले छोप्न नपर्ने, फलामे ढकनीको प्रयोग हुने, धुवाँ कम आउने भएकोले प्रदुर्षणमा कमी हुने, दाउरा साविक भन्दा आधा मात्र लाग्ने र गुठीको परम्परा अनुसार संस्कार पु¥याएर दाहसंस्कार गर्न मिल्ने उपभोक्ता समितिले जनाएको छ ।