गःहिटीको लक्ष्मीनरसिंह मन्दिरको शिलान्यास

भक्तपुर, मंसिर २७
भक्तपुर नगरपालिकाले वडा नं. ४ गःहिटीमा अवस्थित लक्ष्मीनरसिंह मन्दिर पुरानै मौलिक शैलीमा पुनःनिर्माण गर्ने भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लक्ष्मीनरसिंह मन्दिरको आज एक समारोहबीच शिलान्यास गर्नुभयो ।
सो अवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुरका अरु सम्पदा पुनःनिर्माणमा जस्तै लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणमा पनि यहाँका स्थानीय जनताले अपनत्व ग्रहण गर्ने विश्वास व्यक्त गर्दै पुनःनिर्माणको कार्य पारदर्शी ढंगले सम्पन्न गर्न मार्गनिर्देश गर्नुभयो । अध्यक्ष बिजुक्छेँले नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि नै सम्पदाको महत्वबारे सिकाउनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा अपनाएको नीति ‘ख्वप मोडल’ बाट देशका अन्य जिल्लाहरुले पनि सिक्न चाहेको बताउँदैं उहाँले भन्नुभयो, ‘भक्तपुर नगरपालिकाले गरेको कार्यबाट देशभरिकै स्थानीय तहहरुले अनुकरण गर्न खोजिरहेका छन् । यो देशकै निम्ति राम्रो र सबल पक्ष हो ।’


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारालाई सार्थक बनाउने अभियानमा नगरपालिका रहेको बताउनुभयो । २०७२ सालको भूकम्पबाट क्षति पुगेको १२० वटा सम्पदाहरुमध्ये भक्तपुर नपाले ११८ वटा जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न गरिसकेको र केही पुनःनिर्माणको क्रममा रहेको जानकारी दिँदैं प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत मौलिक सीप, प्रविधि र जनताको सहयोगमा सम्पदा पुनःनिर्माण र जीर्णोद्धार कार्य सफलतापूर्वक सम्पन्न गर्दै आइरहेको बताउनुभयो ।
वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले एकतल्ले जस्ताको छानाले छाएको उक्त मन्दिर हाल नगरपालिकाले दुई तल्ले छानामा मौलिक स्वरुपमै पुनःनिर्माण गर्न लागेको जानकारी दिनुभयो ।


कार्यक्रममा इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर नेपालको एकमात्र शक्तिसहित शान्त स्वभावको लक्ष्मी भएको नरसिंह मन्दिर भएको उल्लेख गर्नुभयो । भक्तपुर १२ औं शताब्दीदेखिको सम्पदाहरु अवस्थित, सांस्कृतिक सम्पदा र प्राचीन मूर्तिले समृद्ध ठाउँ भएको बताउँदैं इतिहासविद् श्रेष्ठले उक्त मन्दिर जयस्थिति मल्लको पालामा बनेको जानकारी दिनुभयो ।
दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मीले जनताको साथ र सहयोगमा निर्माण हुने लक्ष्मीनरसिंह मन्दिरप्रति जनताको अपनत्व हुनुका साथै समयमै सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भक्तपुरका मूर्त र अमूर्त सम्पदा एकअर्काको परिपूरक भएको बताउनुभयो ।
लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका पूर्व अध्यक्ष एवम् सल्लाहकार न्हुछेराम भेलेले मन्दिर पुनःनिर्माणको हालसम्मको आय–व्यय प्रस्तुत गर्दै पहिलो चरणको कार्य सम्पन्न भएपश्चात हाल शिवराम किजुको अध्यक्षतामा लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण उपभोक्ता समिति पुनःगठन भएको र मन्दिर पुनःनिर्माणको कूल लागत रु. ३ करोड ७१ लाख, २७ हजार ५१५ रुपैंया रहेको जानकारी दिनुभयो । उहाँले दोस्रो चरणको लागत इस्टिमेट ८७ लाख ९३ हजार ७०८ रुपैंया रहेको जानकारी समेत दिनुभयो ।