नेपाली कांग्रेस बागमती प्रदेशमा पुनः मतदान हुने

भक्तपुर, मंसिर १९
नेपाली कांग्रेसको बागमति प्रदेश अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । कांग्रेसको बागमति प्रदेश अधिवेशन अन्तर्गत शनिवार सम्पन्न सभापतिको निर्वाचनमा सभापतिका दावेदार तीन उम्मेदवार मध्यै कसैले पनि विधानले व्यवस्था गरे अनुसार ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान हुने भएको हो ।
बागमति प्रदेशको नेतृत्वका लागि इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान प्रतिष्पर्धामा थिए । निर्वाचन समितिका अनुसार बानियाँले ९९२ मत ल्याएका छन् भने केसीले ८७२ र प्रधानले १९७ मत ल्याएका छन् । यसैगरी १० मत बदर भएको छ हुनुका साथै केही मत खाली रहेको छ ।
नेपाली काँग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ । अब अर्को चरणको चुनावमा बढी मत ल्याउने बानियाँ र केसीबीच प्रतिष्पर्धा हुनेछ ।
बानियाँ संस्थापन पक्ष शेरबहादुर देउवा निकटका हुन् भने केसी रामचन्द्र पौडेल र प्रधान कृष्ण प्रसाद सिटौला पक्षका हुन् । कुल मतदाता २१५१ भएको बागमती प्रदेशमा २०८३ मत खसेको निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणको मतदान आजै (आइतवार) गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।