राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित, निर्मल निवासले हस्तक्षेप गरेको थापाको आरोप

भक्तपुर, मंसिर १९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । राप्रपाको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनले लिङ्देनलाई अध्यक्षमा निर्वाजित गरेको हो ।
राप्रपाको आइतवार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार लिङ्देन एक हजार आठ सय ४४ मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रत्याशी कमल थापाले एक हजार छ सय १७ मत ल्याउनुभयो । चार सय १३ मत बदर भएको थियो ।
थापाले आइतवार बिहान ७ बजे ट्वीट गर्दै अध्यक्षमा लिङ्देन निर्वाचित भएकोमा बधाई दिनुभएको छ । उहाँले पराजयलाई सहर्ष स्विकार गर्ने पनि बताउनुभएको छ ।
‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना ।’ थापाले ट्वीटरमा लेख्नुभएको छ, ‘प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु ।’
थापाले ट्वीटर मार्फत नै पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाउनुभएको छ । ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । मैले राहत र उन्मुक्ति पाएको छु,’ उहाँले भन्नुभयो, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभ–कामना ।’