पुँजीवादी व्यवस्था ध्वस्त नगरेसम्म समाजवादी व्यवस्था आउँदैन – अध्यक्ष बिजुक्छें

भक्तपुर, मंसिर १६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले पुँजीवादी व्यवस्था ध्वस्त नगरेसम्म समाजवादी व्यवस्था नआउने बताउनुभएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ्ग कलेजको २० औं र ख्वप कलेज अफ इन्जिनियरिङ्गको १३ औं वार्षिक उत्सवका अवसरमा बुधवार आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेंले समाजवादी व्यवस्था स्थापनाका लागि पुँजीवादी व्यवस्था ध्वस्त बनाउनुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “कार्ल माक्र्सको सिद्धान्तमा पूँजीवादको ठाउँमा सर्वहारा वर्गको शासन सत्ता आउँछ भनी उल्लेख गरेको छ । पूँजीवादी राजनैतिक व्यवस्था ध्वस्त नगरी समाजवाद आउँदैन ।” उहाँले समाजवादी व्यवस्थामा उत्पादनका साधनहरु राष्ट्रियकरण हुने चर्चा गर्नुभयो ।
बिजुक्छेंले विद्यार्थीहरुले ज्ञान र चिन्तनलाई निरन्तरता दिँदैं देश र जनताको सेवा गर्ने भावनाले राजनीति गनुपर्ने विचार व्यक्त गर्नुभयो । बौद्धिक व्यक्तिहरुलाई राजनीतिबाट टाढा राख्न भ्रम पैmलाइरहेको उल्लेख गर्दै बिजुक्छेंले राजनीतिबाट कोही पनि अछुतो नरहने र देशमा निस्वार्थ सेवा गर्ने राजनीतिकर्मीको खाँचो रहेको स्पष्ट पार्नुभयो ।
नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यका साथ २३ वर्ष अगाडि ख्वप उच्च मावि, २० वर्ष अगाडि ख्वप इन्जिनियरिङ्ग कलेज र १६ वर्ष अगाडि ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा सिटिभिटी अन्तर्गत नर्सिङ्ग र सब–इन्जिनियरिङ्ग विषय अध्यापनको स्विकृति लिई हाल ख्वप सर्कलका ७ वटा कलेजहरु सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
उहाँले ७ वर्ष अगाडि मेडिकल कलेज सहितको ख्वप विश्वविद्यालय सञ्चालनको लागि ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता भइसकेपनि हालसम्म स्विकृत नभएको बताउनुभयो ।
उहाँले शासक दलहरु संसद्बाट एमसीसी पारित गरी नेपाललाई भारतको नवउपनिवेश बनाउन लागिपरेको आरोप लगाउँदैं एमसीसीको विरोधमा नेमकिपाले सडक र सदनमा आवाज उठाईरहको स्पष्ट पार्नुभयो ।
ख्वप मा.वि. तथा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने र २१ औं शताब्दीका लागि योग्य नागरिक तयार गर्ने उद्देश्यले २ वटा इन्जिनियरिङ्ग कलेज सहित ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले ती शैक्षिक संस्थाहरुमा ६ हजार भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिनुभयो ।
उहाँले प्राविधिकहरुले केही पैसाको लोभमा ठेकेदारसँग मिलेर कमजोर र गुणस्तरहिन कार्य गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशको विकासमा प्राविधिकहरुको ठूलो हात रहन्छ । पैसाको लोभमा ठेकेदारको मिलोमत्तोमा कमजोर निर्माण गरी गुणस्तरहीन निर्माण कार्यले गर्दा पुलहरु भत्किएको उदाहरण छन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित इन्जिनियरिङ्ग कलेजहरुबाट उत्पादित जनशक्तिले गलत प्रवृत्तिहरुबाट टाढा रही देशभर नमूनाको रुपमा प्रस्तुत हुनुपर्छ ।
बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले ख्वपको राजनैतिक, साँस्कृतिक र आर्थिक पहिचान बनाउनमा नेमकिपाको योगदानलाई स्मरण गर्नुहुँदै विगतको इतिहासबाट नयाँ पुस्ताले सिक्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भक्तपुर नगर उपप्रमुख रजनी जोशीले सर्वसाधारणको शिक्षाको पहुँच अभिवृद्धिको लागि नपाले गरिरहेको प्रयास र शिक्षाको आवश्यकताको विषयमा चर्चा गर्नुभयो ।


पूर्वाञ्चल विश्वविद्यालयका डिन प्रा.डा. देवी प्रसाद भट्टराईले पूर्वाञ्चल विश्वविद्यालयले गरिरहेको गतिविधिको बारेमा चर्चा गर्दै ख्वप इन्जिनियरिङ्ग कलेज पहिलो समुदायमा आधारित कलेजको भएको उल्लेख गर्नुभयो ।
नेपाल इन्जिनियरिङ्ग काउन्सिलका रजिष्ट्रार शिवमंगल गिरीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २ वटै इन्जिनियरिङ्ग कलेजको परिणाम स¥हानीय रहेको उल्लेख गर्दै इन्जिनियरिङ्ग काउन्सिलको तर्पmबाट पेशागत र गुणस्तर सुधारका लागि आवश्यक सहयोगको लागि प्रतिवद्धता जाहेर गर्नुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ख्वपका विद्यार्थीहरु सबै क्षेत्रमा प्रतिस्पर्धी बनिरहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सय वर्ष पछिको भक्तपुरको अवधारणालाई मूर्त रुप दिन शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई उच्च प्राथमिकता दिई भक्तपुर नगरपालिका अगाडि बढिरहेको चर्चागर्दै नगरभित्रका विद्यार्थीहरुको उच्च शिक्षा प्राप्तिको सहजताका लागि नगरपालिकाले शैक्षिक ऋण सहुलियत ब्याजदरमा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ्ग कलेजका प्राचार्य ई. सुजन माक र ख्वप कलेज अफ इन्जिनियिरिङ्गका प्राचार्य ई. सुनिल दुवालले कलेजको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले सम्पदा संरक्षणमा योगदान गर्ने डकर्मी रामचन्द्र अवाल, सिकर्मी लक्ष्मीभक्त राजचल र लोहकर्मी काजीराम रंजितकारलाई तथा ख्वप माविमा दस वर्ष निरन्तर सेवा गरेका २२ जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गर्नुभएको थियो ।
त्यसैगरी कलेजमा आयोजित बास्केटबल प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो भने आर्किटेक्चर, इलेक्ट्रीकल इन्जिनियरिङ्ग, कम्प्युटर र सिभिल इन्जिनियरिङ्गमा स्नातक तथा अर्बन डिजाईन एण्ड कन्जर्भेसन र अर्थक्वेक इन्जिनियरिङ्गमा स्नातकोत्तर तह उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई सम्झनाको चिनो प्रदान गरिएको थियो । साथै विभिन्न साँस्कृतिक र सांगेतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।