उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने कार्य – अध्यक्ष बिजुक्छें

भक्तपुर, मंसिर १६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने कार्य भएको बताउनुभएको छ । भक्तपुर नगरपालिका–७ स्थित हनुमानघाट परिसरमा पुनःनिर्माण गरिएको ‘खोह्र दीप ध्वाखा’ र ‘छिपा ताँ’ (छिपा पुल)को बिहिवार संयुक्तरुपमा उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले जनताको भावना विपरित सरकारले उपभोक्ता समिति खारेज गर्ने निर्णय गरेर ठेकेदार पोस्ने कार्य गरेको बताउनुभएको हो ।
उहाँले सम्पदा संरक्षणमा भक्तपुरका जनताहरुको अपनत्व र समर्पणभावको उच्च प्रशंसा गर्नुभयो । स्थानीय तहले सुधारिएको शवदाह गृह र विद्युतीय शव दाहगृह निर्माणमा जोड दिनुपर्ने बताउँदैं उहाँले छिपा ताँ सँगै रहेको उपचार पोखरीलाई पुनर्जीवन दिई हनुमन्त्ते खोलाको सुधार र सरसफाईमा पनि विशेष ध्यान पुर्याउन नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले गरेको स्वायत्तताको अभ्यासबाट अरु स्थानीय तहहरुले पनि अनुसरण गर्न खोजिरहेको बताउनुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने, स्थानीय जनताको अपनत्व रहने, स्थानीय जनताले स्वयम्सेवी रुपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय निर्माण कार्य हुने बताउनुभयो ।
स्थानीय सीप, प्रविधि र परम्परागत निर्माण सामाग्री प्रयोग गरी निर्माण गरिएका पाँचतले मन्दिर, भैरवनाथ मन्दिरलगायतका सम्पदाहरु ठूल्ठूला भूकम्पहरुबाट पनि जोगिएको उदाहरण प्स्तुत गर्दै उहाँले अहिले हामीले गर्ने निर्माणहरु पनि वर्षाै वर्ष टिक्ने गरी गुणस्तरीय निर्माणमा नगरपालिकाले जोड दिँदै आइरहेको बताउनुभयो ।
उहाँले भूकम्पबाट क्षतिग्रस्त १२० वटा सम्पदामध्ये भक्तपुर नगरपालिकाले ११५ भन्दा बढी पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न गरिसकेको अवगत गराउनुभयो ।


उपप्रमुख रजनी जोशी, वडा नं. ७ का वडाध्यक्ष उकेश कवांलगायतले हनुमानघाट पौराणिक, ऐतिहासिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण ठाउँ भएको बताउँदैं यस ठाउँको सुन्दरता र जीवन्तता कायम गर्न नियमित सरसफाई गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा ध्वाखा निर्माणमा सहयोग गर्नेहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।