मध्यपुर थिमिभित्र १५० कुकुरको बन्ध्याकरण गरिने

भक्तपुर, मंसिर ११
प्रत्येक समुदायले थाम्न सक्नेगरी उचित मात्रामा मात्रै निरोगी र तन्दुरुष्ट सामुदायिक (खुल्ला छाडा) कुकुरको संख्या बनाउने उद्देश्यले मध्यपुर एनिमल वेयरफेयर सोसाईटी मध्यपुर थिमिले सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण अभियान सञ्चालन गर्ने भएको छ ।
वल्र्ड भेगन एसोसिएशनको वित्तिय सहयोगमा सोसाईटीले यहि मंसिर १७ गतेदेखि १९ गतेसम्म मध्यपुर थिमि–२, गठ्ठाघरस्थित मध्यपुर युथ एशोसिएशनको भवनमा उक्त बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्न लागिएको सोसाईटीका अध्यक्ष राजेश कारंजितले जानकारी दिनुभएको छ ।


अध्यक्ष कारंजितले नमुनाको रुपमा पहिलो चरण अन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं. ६ भित्रका करिव १ सय ५० वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्ने योजना रहेको र पछि नगरभित्रका अन्य वडाहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिदैं सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
सोसाईटीका सचिव सविता श्रेष्ठले एउटा वयष्क पोथी कुकुरले आफुनो जीवनकालभरी ८० वटा बच्चाहरु जन्माउन सक्षम हुने बताउँदैं ती आमा र उसका बच्चाहरु बाँच्ने हो भने ६ वर्षमा करिव ६७ हजारको संख्यामा उनीहरुको जनसंख्या बृद्धि हुने जानकारी दिनुभयो । “समुदायले थाम्न सक्नेगरी उचित मात्रामा मात्रै निरोगी र तन्दुरुष्ट सामुदायिक कुकुरको संख्या बनाउनका लागि पनि यो कार्यक्रमको महत्व रहेको छ,” उहाँले भन्नुभयो ।
कार्यक्रमले अनियन्त्रित रुपमा सडकमा बढ्दै गएको सामुदायिक छाडा कुकुरका कारण सडक दुर्घटनामा न्युनिकरण गर्नमा पनि सहयोग पुग्ने स्थानीयबासिन्दाहरुको जोड रहेको छ ।