नर्सिङ कलेजका लागि सय शैयााको अस्पताल अनिर्वाय – मन्त्री पौडेल

भक्तपुर, मंसिर १०
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शैयाको अस्पताल नहुने शैक्षिक संस्थालाई नर्सिङ शिक्षा पठनपाठनको अनुमति दिन नसक्ने बताउनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले हालै सार्वजनिक गरेको स्टाफ नर्स विषयको भर्ना आवेदन फाराम भर्ने सम्बन्धी सूचनामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम छुट भएको विषयमा ध्यानाकर्षण गराउन गएको नगरप्रमुखसहितको टोलीलाई मन्त्री पौडेलले नर्सिङ शिक्षा पठनपाठनको लागि सय शैयाको आफ्नै अस्पताल हुनुपर्ने बताउनुभएको हो ।
उहाँले ‘चिकित्सा शिक्षा ऐनमा आफ्नै सय बेडको अस्पताल हुने शिक्षण संस्थाले मात्रै नर्सिङको पठनपाठन गर्न पाउने’ व्यवस्था भएकोले मन्त्रालयले यस्तो निर्णय गर्नु परेको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाको माग जायज भए पनि ऐनको प्रावधानले गर्दा कार्यान्वयन गर्न नसकिने जानकारी दिनुभयो ।
सिटीईभीटीले गत मंसिर ८ गते ४५ वटा शिक्षण संस्थाहरुको मात्र नाम प्रकाशित गरी नर्सिङ भर्नाको लागि सूचना प्रकाशित गरेको थियो । सो सूचनामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम समावेश गरिएको थिएन ।
सो सम्बन्धमा भक्तपुर क्षेत्र नं. २ का सांसद एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको नेतृत्वमा एक टोली शुक्रवार मन्त्रालय पुगेर मन्त्री पौडेलसँग भेट गरी संस्थानको नाम छुट भएको विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।
सो अवसरमा सांसद सुवालले भक्तपुर नगरपालिकाले सर्वसाधारण जनताको आधारभूत स्वास्थ्यसम्बन्धी आवश्यकतालाई मध्यनजर गर्दै प्रत्येक वर्ग र तप्कासम्म गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ २०३० सालदेखि जनस्वास्थ्य सेवा केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकोमा मिति २०७८ वैशाख १७ गतेदेखि ख्वप अस्पताल सञ्चालनमा रहेको बताउनुभयो ।
सांसद सुवालले स्थानीय तहले सञ्चालन गरेका कलेजहरुलाई निजी कलेजहरुको आँखाले हेर्न नमिल्ने आग्रह गर्दै जनताको छोराछोरीको प्राविधिक शिक्षा अध्ययन गर्न पाउनुपर्ने अधिकारबाट बञ्चित नगरी ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम समावेश गरी अविलम्ब अर्को सूचना प्रकाशित गर्ने व्यवस्थाको लागि शिक्षामन्त्री पौडेललाई अनुरोध गर्नुभयो । उहाँले ख्वप विश्वविद्यालयको विधेयक सदनमा अगाडि बढाउन पनि सो अवसरमा माग गर्नुभयो ।
सो अवसरमा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक संस्थानअन्तर्गत नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरुलाई ख्वप अस्पताल, भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, वीर अस्पताल, प्रसुतीगृह, कान्ति बाल अस्पताललगायत सरकारी अस्पतालहरुमा विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो । नगर प्रमुख प्रजापतिले ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम प्रकाशित गर्न लिखितपत्र मन्त्री पौडेललाई हस्तान्तरण गर्नुभयो ।
उहाँले जनताको माग र आवश्यकताअनुसार भक्तपुर नपाले ख्वप अस्पतालमा १४ जना विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सक, २० जना मेडिकल अफिसर, २९ जना स्टाफ नर्सलगायत १२५ जना स्वास्थ्यकर्मी र कर्मचारीहरुमार्फत दैनिक करिब ६०० जना बिरामीहरुलाई सेवा प्रदान गर्दै आइरहेको अवगत गराउनुभयो ।