भक्तपुर—थिमी १३२ के.भी. भूमिगत प्रसारण लाइन आयोजनाबारे सार्वजनिक सुनुवाई

भक्तपुर, मंसिर १०
प्रस्तावित भक्तपुर – थिमि १३२ के. भी. भूमिगत प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षणका लागि शुक्रवार सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई गरिएको छ । भक्तपुर नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रम नेपाल विद्युत प्राधिकरण वातावरण तथा सामाजिक अध्ययन विभागले आयोजना गरेको हो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आयोजना सफल कार्यान्वयनको लागि विभिन्न निकायहरुसँग समन्वय गर्न आवश्यक भएको बताउनुभयो । नेपालबाट उत्पादित बिजुली सस्तोमा भारतलाई बेचेर नेपाल कहिल्यै धनी बन्न नसक्ने बताउँदैं उहाँले नेपाली जनतालाई सहुलियत दरमा बिजुली दिनुपर्ने र खेर गएको बिजुलीको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कला र संस्कृतिको नगर भक्तपुरमा अव्यवस्थित तारका कारण वातावरणीय दृश्य प्रदूषण भइरहेको हुँदा यस किसिमको आयोजनाले नगरलाई सुन्दर बनाउन भूमिका खेल्ने बताउँदैं उहाँले भक्तपुर नगरभित्र तार भूमिगत गर्नुपर्नेमा नगरपालिकाले जोड दिइरहेको जानकारी दिनुभयो ।
भक्तपुरका मौलिक सम्पदाहरु अवलोकन गर्न देशी विदेशी पर्यटकहरु आउने हुँदा पनि यहाँको वातावरणीय सुन्दरता कायम गर्नु चुनौतीपूर्ण भइरहेको नगर प्रमुख प्रजापतिले बताउनुभयो ।
विभागका प्रबन्धक मिलन दाहालले भक्तपुर—थिमी १३२ के.भी. भूमिगत प्रसारण लाइन आयोजनाको वातावरणीय अध्ययनबारे प्रस्तुती देखाउनुभयो । उहाँले वातावरणीय अध्ययन नहुँदा आयोजना कार्यान्वयनमा समस्या देखिने बताउनुभयो ।
आयोजनाका इन्जिनियर विनोद मानन्धरले आयोजनाको परिचय, मुख्य विशेषता, विद्यमान वातावरणीय अवस्थाबारे प्रस्तुतीकरण दिनुभएको थियो भने विभागका उपप्रबन्धक गणेशकुमार उप्रेतीले पनि बोल्नुभएको थियो । उक्त सार्वजनिक कार्यक्रममा आयोजनाबारे विभिन्न सरोकारवालाहरुले आ–आफ्ना राय—सुझावहरु पेश गरेका थिए ।