ऐतिहासिक आनन्दकुटी विहार, स्वयम्भूमा कथिन चीवर दान (फाेटाे फिचर सहित)

कथिन चीवर दान, आनन्दकुटी विहार

सुनीता तुलाधर, कार्तिक २७ गते, काठमाण्डाै

स्वयम्भूस्थित ऐतिहासिक विहार आनन्दकुटी विहारमा यसवर्षकाे कथिन चीवर दान उत्सव आज शनिवारका दिन सम्पन्न भएकाे छ । भिक्षु धर्ममूर्ति महास्थविर, भिक्षु प्रज्ञामूर्ति महास्थविर लगायतका भिक्षुहरूले विनयपूर्वक ३ महिना वर्षावास पूरा गर्नुभएकाे उपलक्ष्यमा कथिनदाता सरस्वती तुलाधर र उनका परिवारकाे आयाेजनामा उक्त दान उत्सव सम्पन्न भएकाे हाे ।

नेपालका आठाैं संघनायक भिक्षु बाेधिसेन महास्थविर, भिक्षु धम्मसाेभन महास्थविर, भिक्षु शीलभद्र महास्थविर, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं आनन्दकुटी विहारका विहारप्रमुख भिक्षु मैत्री महास्थविरकाे समुपस्थितिमा कथिनदाता तुलाधरले भिक्षु महासंघलाइ कथिन चीवर दान गर्नुभएकाे थियाे ।

अष्टमहाकुशल दान मध्ये महत्वपूर्ण पहिलाे महाकुशल दान कथिन चीवर दानकाे महत्व र आनिशंसबारे अनेभिमका महासचिव भिक्षु काेण्डन्य महास्थविरले धर्मदेशना गर्नुभएकाे थियाे । उहाँले धर्मदेशनाकाे क्रममा नेपालमा थेरवाद बुद्ध शासनकाे पुनरूत्थानमा भिक्षु धम्मालाेक महास्थविर, भिक्षु अनिरूद्ध महास्थविर, ऋषि महाप्रज्ञा, भिक्षु शाक्यानन्द महास्थविर, भिक्षु अमृतानन्द महास्थविर आदि भन्तेहरूकाे अथक प्रयासबाट मात्र सम्भव भएकाे बताउनुभयाे ।

साथै उहाँले आनन्दकुटी विहारकाे स्थापना कसरी भयाे भन्ने बारेमा संक्षिप्त परिचय पनि दिनुहुँदै ७२ सालकाे महाभूकम्पबाट क्षतिग्रस्त उक्त विहारलाई श्रीलंका सरकारले पुननिर्माण गरिदिएकाेमा श्रीलंका सरकारलाई साधुवाद पनि दिनुभयाे ।

उक्त दान उत्सवकाे शुरूवातमा साे विहारका विहारप्रमुख भिक्षु मैत्री महास्थविरले पञ्चशील प्रदान गर्नुभएकाे थियाे भने कथिन चीवर र अष्ट परिष्कार दानकाे वाक्य संघनायक भिक्षु बाेधिसेन महास्थविरले दाताहरूलाई प्रदान गर्नुभएकाे थियाे ।

श्रीलंकाका राजदूत हिमाली अरूणातिलका लगायत उपासकउपासिकाहरूले अष्ट परिष्कार दान गर्नुका साथै विभिन्न विहारहरूबाट आउनु भएका भिक्षुहरू र अनागारिका गुरूमाहरूलाई दान प्रदान गरेका थिए ।