रेडक्रसको भक्तपुर शाखा र उपशाखाबीच अन्तरक्रिया सम्पन्न

भक्तपुर, कार्तिक २४
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले जिल्लाका १७ उपशाखाहरु पदाधिकारीहरुसँग बुधवार अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा शाखाका सदस्य प्रदिपकुमार केसीले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रम उद्देश्य स्पष्ट पार्नु भएको थियो । उहाँले उपशाखाद्धारा सञ्चालन गरिएका गतिविधिहरुका साथै उपशाखाको तथ्यांकगत विवरण र बस्तुस्थितीका बारेमा जानकारी लिनुका साथै उपशाखा मार्फत सञ्चालन गरिने मानवीय सेवाका गतिविधिहरु प्रभावकारी रुपमा सञ्चालनको लागि जिल्ला शाखाले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
सो अवसरमा शाखाका संयोजक कृष्णगोपाल लागेजूले विषम् परिस्थितीका कारण आजको अबस्था श्रृजना भएकोले तदर्थ समितिले रेडक्रस अभियानलाई अगाडि बढाउनको लागि यस अघिका कार्य समितिले गरेका राम्रा कार्यहरुलाई निरन्तरता दिदै उपशाखाहरुको संस्थागत तथा क्षमता विकासतर्फ सदैब जोड दिने बताउनुभयो ।


उहाँले उपशाखाहरुले आफ्नो बैधानिक दायित्व पुरा गर्दै मानवीय सेवाका गतिविधिहरुलाई अगाडि बढाउदै लैजानुपर्ने र आफ्ना कार्यक्रमहरुबाट समुदायलाई रेडक्रसको उपस्थिती रहेको महशुस गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी उपशाखाका सभापति तथा पदाधिकारीहरुले आफ्नो उपशाखाको संगठनात्मक विवरण, पछिल्लो त्रैमासिक समयावधिमा गरेका गतिविधि तथा कार्यक्रमहरु, उपशाखाद्धारा कार्यक्रम सञ्चालन गर्दा भोगेका कठिनाई, समस्याहरु र चुनौतिका साथै जिल्ला शाखाबाट गरिनुपर्ने सहयोगको क्षेत्रका बारेमा प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा शाखाका सदस्य रामेश्वर थापा र दिनेश थापाले उपशाखाहरुलाई अनिवार्य रुपमा आफ्ना नियमित गतिविधिहरु सञ्चालन गर्दै रेडक्रस अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।