राष्ट्रियस्तरका नेताहरुको विवरणको गोप्यताबारे संवेदनशिल बन्नुपर्ने–अध्यक्ष बिजुक्छें

भक्तपुर, कार्तिक २५
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले राष्ट्रिय स्तरका नेताहरुको विवरण गोप्यताको महत्वका बारेमा केन्द्रीय तथ्यांक विभाग संवेदनशिल बन्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय जनगणना–२०७८ कार्यक्रम अन्तर्गत भक्तपुर नगरको गणना शुभारम्भ गर्दै अध्यक्ष बिजुक्छेंले राष्ट्रिय स्तरका राजनीतिक नेताहरु, राष्ट्र प्रमुख, सरकार प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको व्यक्तिगत विवरण र भौतिक विवरण राष्ट्रिय सुरक्षासँग समेत गाँसिएको विषय हुने भएकोले निजहरुको विवरणको गोप्यताको महत्वबारे केन्द्रीय तथ्यांक विभाग संवेदनशील हुनुपर्ने बताउनुभएको हो ।


स्थानीय जनगणना अधिकारी तुल्सीदेवी कोजूले अध्यक्ष बिजुक्छेंको घरपरिवारको विवरण संकलन गरी जनगणनाको आरम्भ गर्नुभएको हो । उहाँले यस्ता तथ्य र तथ्यांक संकलन कार्य देशकै स्रोत र साधनबाट सम्पन्न गर्नुपर्ने र विदेशी सहयोगबाट यस्ता कार्यक्रम सञ्चालन गर्दा महत्वपूर्ण सूचनाहरु चुहावट भई देशलाई दीर्घकालीन नकारात्मक असर पर्न सक्ने हुँदा सो विषयमा सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेंको घरपरिवारको जनगणना संकलन पछि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको घरपरिवारको पनि जनगणना संकलन गरिएको थियो । जनगणना गर्ने गणकहरुलाई विवरणहरु उपलब्ध गराउँदै नगर प्रमुख प्रजापतिले यस्तो आवधिक जनगणना देशको योजना तयार पार्न, प्रदेश र संघीय संसदमा समानुपातिक प्रतिनिधित्व गराउन, भौतिक पूर्वाधार निर्माण गर्न र अत्यावश्यक सेवा सुविधा विस्तार गर्न अत्यन्त महत्वपूर्ण हुने भएकोले सम्पूर्ण नगरबासीहरुलाई घर घरमा आउने गणकहरुलाई सही, सत्य र तथ्य विवरणहरु उपलब्ध गराउनुहुन आग्रह गर्नुभयो ।

सो अवसरमा जिल्ला जनगणना अधिकारी पृथ्वी विजयराज सिजापतिलगायत जिल्ला जनगणना कार्यालयका कर्मचारी तथा गणकहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत मुख्य गणना कार्य मिति २०७८ कार्तिक २५ गतेदेखि मंसीर ९ गतेसम्म देशैभरी आरम्भ भएको छ ।