नेपाल संवतले राष्ट्रिय एकतालाई मजबुद बनाएको छ – प्रधानमन्त्री देउवा

भक्तपुर, कार्तिक १९
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवतले विविधतायुक्त नेपाली समाजमा आपसी एकता र भाइचाराको सन्देश दिएको बताउनुभएको छ । नेपाल संवत ११४२ को अवसरमा राष्ट्रिय विभुति शंखधर साख्वा प्रतिष्ठानले मध्यपुर थिमिको शंखधरचोकमा अवस्थित साख्वाको प्रतिमामा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले नेपाल संवतले राष्ट्रिय एकतालाई मजबुद बनाउन र एकतावद्ध बनाउन प्रेरणा मिलेको बताउनुभएको हो ।
साख्वाको कदमले नेपालीलाई ऋण र दासत्वको जीवन त्यागी स्वाभिमानी र स्वतन्त्र भएर बाँच्न सिकाएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले साख्वाको कार्यबाट सबैले सिक्नुपर्ने बताउनुभयो ।


उहाँले नेपाल संवतको मोवाईल एप सार्वजनिक गर्दै यसले नेपाल संवतलाई दैनिक जीवनमा प्रयोग गर्न सहज र सरल हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले शंखधर बुलेटिन सार्वजनिक गर्नुका साथै नेपाल संवतको पात्रो तयार गर्न योगदान दिनुहुने नेपाल पञ्चांग निर्णय समिति र शंखधरचोक नामाकरण गरी शंखधरको प्रतिमा स्थापना गर्न अतुलनीय योगदान दिनुहुने मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख एवम् प्रतिष्ठानका संस्थापक अध्यक्ष मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्नुभयो ।


सो कार्यक्रममा संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका नेता प्रकाशशरण महत, नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेत, बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, बागमति प्रदेशका सांसदहरु रजनी जोन्छें, डा. राजेन्द्रमान श्रेष्ठ, सरस्वती बाटी, नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, विभिन्न राजनीतिक दलका नेतालगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा महाकाली नाचलगायतका विविध साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।