मध्यपुर थिमिमा एकै दिन तीन पुर्वप्रधानमन्त्री एक उपप्रधानमन्त्रीको सम्बोधन

भक्तपुर, कार्तिक १९
मध्यपुर थिमिमा बिहिवार एकै दिन तीन पुर्वप्रधानमन्त्री र एक पुर्वउपप्रधानमन्त्रीले छुट्टाछुट्टै कार्यक्रममा सम्बोधन गरेका छन । नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमिति, नेकपा एकिकृत समाजवादी थिमि नगरसमिति, नेकपा माओवादी केन्द्र थिमि नगरसमिति र मध्यपुर थिमि नगरपालिकाको कार्यक्रममा तीन पुर्वप्रधानमन्त्री र एक पुर्वउपप्रधानमन्त्रीले सम्बोधन गरेका हुन ।
कांग्रेसले भुलाँखेलमा आयोजना गरेको कार्यक्रममा पुर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, बालकुमारीमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, थिमि व्यांक्वेटमा आयोजित नेकपा माओवादी केन्द्रको कार्यक्रममा पुर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र दुई पोखरीमा मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको गन्तव्य मध्यपुर फोटो पुस्तक सार्वजनिक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री के पी शर्मा ओलीले सम्बोधन गरेका हुन ।
नेकपा एकिकृत समाजवादीले बालकुमारीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्ने टिप्पणी गर्नुभयो । उहाँले निर्वाचनसम्म गठबन्धन अघि बढ्ने बताउँदैं आगामी चैतमा राष्ट्रिय सभा, स्थानीय र उपनिर्वाचन हुने जानकारी दिनुभयो । उहाँले प्रदेशसभा र संघिय संसदको निर्वाचन निर्धारित समयमा हुने जनाउँदैं चाँडै निर्वाचन नहुने स्पष्ट पार्नुभयो ।
नेता नेपालले एमालेको नवौं महाधिवेशनमा ओलीको जितसँगै एमालेको दुभाग्य हुरु भएको बताउनुभयो । ‘नवौं महाधिवेशनमा ओलीलाई जिताएर साथीहरुले भुल गर्नुभयो । त्यसपछि एमाले पार्टीले गलत बाटो लिन थालेपछि पार्टीभित्र आफूहरु निसास्सिएर बस्नै नसक्ने अवस्था आएपछि नयाँ पार्टी खोल्न बाध्य भएका हौं,’ उहाँले भन्नुभयो ।
नेता नेपालले नेकपा एकिकृत समाजवादीसँग टक्कर लिने कल्पना पनि नगर्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग टक्कर लिन खोज्यो भने भारततिर भनिन्छ नि जो हम से टकराएगा, वो चुरचुर हो जाएगा ।’
नेता नेपालले १० बुँदेंको नाममा आफुसँग निकट रहेर पनि एमालेमा बसेका नेताहरुलाई एमाले पार्टीभित्र अपमान सहेर बस्नु भन्दा आफ्नो पार्टीमा आउन आग्रह पनि गर्नुभयो । ‘हाम्रो पार्टीमा आउनुस्। त्यहाँ बसेका पनि कतिपय पछुताइरहेका छन्। तपाईंले हेर्नुभयो। छाम्नुभयो। पीडा सहनुभयो, ’उहाँले भन्नुभयो, ‘अब त फर्केर आए पनि हुन्छ। जो–जो आउन चाहनु हुन्छ उहाँहरूलाई स्वागत छ ।’


भुलाँखेलमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा पुर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले न्यायपालिकाको अहिलेको वेथिती के पी शर्मा ओलीको पालामा शुरु भएको आरोप लगाउनुभयो । नेता सिंहले त्यसलाई सुधार गर्न केही समय लाग्ने बताउनुभयो । संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउँदा नै न्यायपालिका र कार्यपालिकाबीच लेनदेनको शुरुवात भएको उहाँले बताउनुभयो । ‘घाईते भएपछि उपचार गरेर ठिक हुन केही समय लाग्छ,’ नेता सिंहले भन्नुभयो, ‘त्यस्तै न्यायलयको अहिलेको बेथितीलाई ठिक ठाउँमा ल्याउन केही समय लाग्छ ।’
वर्तमान प्रधानमन्त्री शेरबहादुर नेतृत्वको गठबन्धन सरकारले कोरोनाको खोपमा उल्लेख्य कार्य गरेको भन्दै नेता सिंहले प्रशंसा गर्नुभयो । ‘गठबन्धन सरकार बहुमत प्राप्त सरकार जस्तो होइन । यसका केही अफ्ठ्यारा पनि हुन सक्छ । जे भएपनि सरकारले खोपमा राम्रो काम गरेको छ । लक्ष्य अनुसार काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘सरकारले कोभिड नियन्त्रणमा राम्रो काम गरेकै कारण आज खुल्ला रुपमा कार्यक्रम गर्न सकिने अवस्था आएको छ ।’
उहाँले कम्युनिष्ट बलियो बनेको नभई कांग्रेस कमजोर भएका कारण कम्युनिष्टले गएको निर्वाचनमा बहुमत ल्याएको बताए। ‘निर्वाचन अघि सरकारले गरेका केही गलत निर्णयका कारण कांग्रेस निर्वाचनमा कमजोर बन्यो र निर्वाचनमा कम्युनिष्टले बहुमत ल्यायो,’ उहाँले भन्नुभयो । कम्युनिष्टले जारी गर्न नसकेको संविधान कांग्रेसको नेतृत्वमा जारी हुने तर त्यही संविधान कार्यान्वयन गर्न निर्वाचन हुँदा कांग्रेस पराजित हुने यो कसको कारण हो ? सिंहको प्रश्न थियो । उहाँले कांग्रेस बलियो बनाउन बिधि र विधान अनुरुप पार्टी चलाउनुपर्नेमा जोड दिनुभयो ।


नेकपा माओवादी केन्द्रको कार्यक्रममा पार्टी अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले संग एकता गरेर गल्ती नगरेको जिकिर गर्नुभयो । ठुलो पार्टी बनाएर समाजबादतर्फको सजिलो यात्रा गर्ने आफ्नो प्रयासलाई अर्का अध्यक्ष केपी ओलीले ब्रेक लगाइदिएको बताउदै उहाँले ओली प्रतिक्रियावादी कित्तामा जादा वर्तमान अवस्था आएको बताउनुभयो
कम्युनिस्ट सत्ता विरुद्ध प्रतिक्रान्ति कम्युनिस्ट भनिने नेताबाटै भएका विश्व कम्युनिस्ट इतिहासको उदाहरण दिदै उहाँले यसपटक केपी ओलीले गर्न खोजेको प्रतिक्रान्ति पनि पराजित गर्न सकेकोमा सन्तोष ब्यक्त गर्नुभयो ।
माओवादी केन्द्र कमजोर भए देश दुर्घटनामा जानसक्ने खतरा अझै नटरेको खुलासा गर्दै अध्यक्ष प्रचण्डले जनताको घर आगनमा पुगेर कुरा बुझाउन र संगठनलाई बलियो बनाउन निर्देशन समेत दिनुभयो ।
अध्यक्ष प्रचण्डले आफ्ना मन्त्रीहरूले राम्रो काम गरिरहेका दावी गर्दै जनताको पक्षमा देखिनेगरी काम गर्न नसक्ने र नतिजा निकाल्न नसक्ने मन्त्री लाई पार्टीले जुनसुकै बेला फिर्ता बोलाउने गरी मन्त्री मण्डलमा सहभागी गराएको समेत खुलासा गर्नुभयो ।


दुईपोखरीमा आयोजित कार्यक्रममा गन्तव्य मध्यपुर तस्विर पुस्तक विमोचन गर्दै नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री के पी शर्मा ओलीले प्रचण्डले भन्दा २५ वर्ष अघि आफुले गणतन्त्रको आन्दोलन थालेको दावी गर्नुभयो । उहाँले गणतन्त्र आफैले ल्याएको जसरी धाक नलगाउन प्रचण्डलाई चेतावनी समेत दिनुभयो । ‘प्रचण्डले गणतन्त्र भन्नुभन्दा २५ वर्षअगाडि हामीले गणतन्त्रको अभियान थालिसकेका थियौं,’ ओलीले भन्नुभयो, ‘कसैले धाक नलगाए हुन्छ ।’
ओलीले एमाले कसैले चाहना गर्दै सिद्धिने पार्टी नभएको बताउनुभयो । नेपाली कांग्रेसका नेता गगन थापाले बुधवार गुण्डुमा दिएको अभिव्यक्तिको जवाफ दिँदैं अध्यक्ष ओलीले भन्नुभयो, ‘एकजना बाबु घुम्दै यतै भक्तपुर आएछन् । भ्याकुम क्लिनर लिएर आएका उनले एमाले सिध्याउने रे । विचरा सिंगै काँग्रेस कहाँ पुग्यो हेक्का छैन, एमाले भ्याकुम क्लिनरले सिध्याउने सपना देख्ने ?’