पार्टी विधि विधान अनुसार चल्नुपर्छ – नेता सिंह

भक्तपुर, कार्तिक १८
नेपाली कांग्रेसका नेता एवम् पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी विधि र विधान अनुरुप चल्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिले बिहिवार थिमिको भुलाँखेलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले पार्टी विधि र विधान अनुरुप चल्न नसक्दा कमजोर हुँदैं गएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, “लोकतन्त्रको स्थायित्व र पार्टीको संगठन मजबुद बनाउन पार्टी विधि र विधान अनुरुप चल्नु पर्छ । कांग्रेसले विधि र विधान विपरित कार्य गरेकाले गएको निर्वाचनमा कांग्रेस कमजोर बनेको हो ।”
उहाँले कम्युनिष्ट बलियो बनेको नभई कांग्रेस कमजोर भएका कारण कम्युनिष्टले बहुमत ल्याएको बताउनुभयो । “निर्वाचन अघि सरकारले गरेका केही गलत निर्णयका कारण कांग्रेस निर्वाचनमा कमजोर बन्यो र निर्वाचनमा कम्युनिष्टले बहुमत ल्यायो,” उहाँले भन्नुभयो । कम्युनिष्टले जारी गर्न नसकेको संविधान कांग्रेसको नेतृत्वमा जारी हुने तर त्यही संविधान कार्यान्वयन गर्न निर्वाचन हुँदा कांग्रेस पराजित हुने यो कसको कारण हो ? सिंहले प्रश्न गर्नुभयो ।


न्यायपालिकाको अहिलेको वेथिती के पी शर्मा ओलीको पालामा शुरु भएको आरोप लगाउँदैं नेता सिंहले त्यसलाई सुधार गर्न केही समय लाग्ने बताउनुभयो । संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउँदा नै न्यायपालिका र कार्यपालिकाबीच लेनदेनको शुरुवात भएको उहाँले बताउनुभयो । “घाईते भएपछि उपचार गरेर ठिक हुन केही समय लाग्छ,” नेता सिंहले भन्नुभयो, “त्यस्तै न्यायलयको अहिलेको बेथितीलाई ठिक ठाउँमा ल्याउन केही समय लाग्छ ।”
वर्तमान प्रधानमन्त्री शेरबहादुर नेतृत्वको गठबन्धन सरकारले कोरोनाको खोपमा उल्लेख्य कार्य गरेको भन्दै नेता सिंहले प्रशंसा गर्नुभयो । गठबन्धन सरकार बहुमत प्राप्त सरकार जस्तो होइन । यसका केही अफ्ठ्यारा पनि हुन सक्छ । जे भएपनि सरकारले खोपमा राम्रो काम गरेको छ । लक्ष्य अनुसार काम भइरहेको छ,” उहाँले भन्नुभयो, “सरकारले कोभिड नियन्त्रणमा राम्रो काम गरेकै कारण आज खुल्ला रुपमा कार्यक्रम गर्न सकिने अवस्था आएको छ ।”


उहाँले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताउँदैं आफुलाई कमजोर नठान्न चेतावनी दिनुभयो । आफु विरुद्ध दुस्प्रचार भइरहेको टिप्पणी गर्दै आफु कसैको छोरा भएर सभापतिमा दावी गरेको नभई एउटा कार्यकर्ताको रुपमा भित्तेलेखन गर्ने देखी राजनीति शुरु गरेको स्मरण गराउनुभयो ।
कांग्रेसका शिर्ष नेताहरु भजनमण्डलीको भजनमा रमाउने गर्नाले कांग्रेस कमजोर बनेको उहाँको भनाई थियो । “हरेक कुरामा बेथिती बढेको भन्दै पार्टीभित्र बहुमत छ भन्दैमा जे गरे पनि हुन्छ भन्ने मनोवृत्तिले कांग्रेस झन झन बमजोर बनेको हो,” उहाँले भन्नुभयो ।
के पी ओलीको बोलीमा भ्रष्टाचार शुन्य भन्ने तर दायाँबाँया तलमाथि भ्रष्टैभ्रष्ट राखेर कार्य गर्ने गरेको आरोप लगाउँदैं वर्तमान सरकारले त्यसो गरे आगामी निर्वाचन कांग्रेस फेरी कमजोर हुने बताउनुभयो । उहाँले तिहारको मुखमा पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि सही नभएको बताउँदैं यसले महँगी बढ्ने आशंका व्यक्त गर्नुभयो । आइल निगम भित्रको कमजोर व्यवस्थापन र अनियमितताका कारण जनताले दुःख पाउन नहुनेमा उहाँको जोड थियो ।


कार्यक्रममा पुर्व केन्द्रीय सदस्य कमला पन्तले कम्युनिष्ट बलियो भए लोकतन्त्र र संविधानमाथि प्रहार हुन्छ भन्ने तथ्य के पी ओलीले दुई दुई पटक गैरसंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेर पुष्टि गरेको बताउनुभयो ।
जिल्ला सभापति दुर्लभ थापाले विगतका तिठामिठा भुलेर कांग्रेस एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । “विगतको निर्वाचनमा कसले कसलाई सहयोग गरेन, कसले कसलाई कारवाहीको लागि सिफारिस ग¥यो भन्दा पनि अहिले जसरी कांग्रेसमा एकता देखिएको छ यसलाई निरन्तरता दिनुपर्छ,” थापाले भन्नुभयो । उहाँले कांग्रेसलाई बलियो र सशक्त बनाउन आफुले जुनसुकै त्याग गर्न तयार रहेको घोषणा गर्नुभयो । “जिल्लाको प्रदेश सभा, क्षेत्रीय र जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर अघि बढ्ने सवालमा जुनसुकै त्याग गर्न तयार छु” उहाँले भन्नुभयो ।
बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले व्यक्तिगत होइन जनताको सामुहिक फाइदा हुने योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्दै आफुले सस्तो प्रचारका लागि नभई वास्तविकतामा रहेर विकास निर्माणका योजना ल्याउने बताउनुभयो ।
कार्यक्रममा पुर्व जिल्ला सभापतिद्धय महेश श्रेष्ठ र गणेशमान चक्रधर, नेपाली कांग्रेसका नेता अष्टकुमार कवे, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली कांग्रेस मध्यपुर थिमि नगर उपसभापति अनिल श्रेष्ठ, सचिव राम थापालगायतका नेताहरुले कांग्रेस एक भए मध्यपुर थिमिमा कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गर्नुभयो ।
नगरसभापति हरिदास प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा २०४२ सालको सत्याग्रहमा सहभागी भई जेल परेका मध्यपुर थिमि नगरभित्रका सत्याग्रही र तत्कालिन चपाचो गाविस र मध्यपुर थिमि ९ र १० वडामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।