भक्तपुरका चार वटै नगरपालिकामा चेम्बरको कमिटी गठन

भक्तपुर, कार्तिक १७
भक्तपुरका चार वटै नगरपालिकामा चेम्बर अर्फ कमर्शको कमिटी गठन गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्शले जिल्लाका चार वटै नगरपालिकामा चेम्बरको कमिटि गठन गरेको हो ।
चेम्बरको भक्तपुर नगर कमिटीमा रोधे सुन्दर साँयजु अध्यक्ष, रस्मी शिल्पकार उपाध्यक्ष र न्हुछे राम धुख्वा, बालमुकुन्द प्रधान र विजय हाछेथु सदस्य रहेका छन । चाँगुनारायण नगर कमिटीमा गोकुल प्रसाद प्रजापति अध्यक्ष, सुनिता जोन्छें धौभडेल उपाध्यक्ष र सदस्यहरुमा विक्रम प्रजापति, जीवन मारिखु र रमेश ह्यौमिखा रहेका छन ।
त्यसैगरी सचिन श्रेष्ठको अध्यक्षतामा मध्यपुर थिमि नगर चेम्बर अफ कमर्श गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा उषा प्रजापति र सदस्यहरुमा रविन्द्रकुमार श्रेष्ठ, पुष्पलाल मानन्धर र प्रविनलाल श्रेष्ठ रहेका छन भने राम गोपाल सुवालको अध्यक्षतामा गठित सूर्यविनायक नगर चेम्बर अफ कमर्शमा सुचित्रा श्रेष्ठ उपाध्यक्ष र रवि नारायण कायष्ठ, नानी बाबु थापा र कृष्ण सदन अवाल सदस्य रहेका छन ।
चेम्बरले मंगलवार आयोजित नेपाल सम्वत् ११४२ न्हुदं, शुभ दिपावली २०७८ र छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नवगठित कमिटी र कमिटीका पदाधिकारी घोषणा गरिएको थियो ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकार र निजी क्षेत्रको साझेदारीबाट मात्रै आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो । उहाँले राज्यको कुल ग्राहस्थ उत्पादनको ७० प्रतिशत हिस्सा आगटेको नीजि क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले राज्यलाई आत्मनिर्भर गर्न घरेलु उत्पादनलाई निर्यात गर्नुपर्ने र नेपालको उद्योग व्यवसायले रोजगारीको क्षेत्रमा समेत उल्लेख्य योगदान दिईरहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यवसायीले आर्थिक गतिविधिहरुका अलावा सामाजिक सेवामा समेत योगदान गर्दै आएको कार्य अत्यन्तै सराहनिय रहेको बताउनुभयो । उहाँले सरकार नीजि क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताउँदैं नीजि क्षेत्रले रोजगारी प्रर्वद्धनका लागि ठोस कार्ययोजना सहित अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछे रत्न मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्शका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय कार्यसमिति सदस्य रोशन भोयद्यो र भक्तपुर लायन्स सेवा समन्वय समितिका संयोजक विष्णु भक्त मारिखु, कोषाध्यक्ष जगत बहादुर श्रेष्ठले चेम्बरले कोरोना महामारीको दोस्रो लहरका बेला सेवा परमो धर्म अभियान अन्तर्गत आइसोलेसन केन्द्र, निःशुल्क एम्बुलेन्स सञ्चालन, निःशुल्क परामर्श, रक्तदान अभियान, अक्सिजनको सहजीकरणलगायतका कार्यगरी मानवीय सेवा र सामाजिक उत्तरदायित्व बहन गरेको जानकारी दिनुभयो ।
सो अवसरमा भक्तपुर चेम्बर अफ कमर्शबाट प्रकाशित स्मारिका आर्थिक सम्वाह २०७८ को विमोचन गरिनुका साथै चेम्बरका पदाधिकारी र नवगठित नगर कमिटीका पदाधिकारीहरुलाई चेम्बरको लोगो वितरण गरिएको थियो । त्यस्तै माधव प्रसाद प्रजापति, ज्ञानेन्द्र मानन्धर र सुरेन्द्र जाकीबन्जारलाई चेम्बरको कार्यसमिति सदस्यमा मनोनित गरेको घोषणा गरेको थियो ।