भक्तपुरका मिठाई पसलमा सरसफाईमा लापरवाही र अखाद्य रंगको प्रयोग

भक्तपुर, कार्तिक १७
भक्तपुरका अधिकांश मिठाई पसलमा अखाद्य रंग प्रयोग भएका, गुणस्तरहिन र सडेगलेका मिठाई बिक्रि गरेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाले नगरको शंखधरचोक र बहाखाबजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा अखाद्य रंग प्रयोग गरिएको मिठाई नष्ट गर्नुका साथै नगद समेत जरिवाना गरेको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी सीता परियार नेतृत्वको टोलीले सूर्यविनायक चोकस्थित सिद्धि लक्ष्मी मिठाई पसललाई १० हजार जरिवान गरेको छ । अनुगमनका क्रममा गुणस्तरहिन मिठाई बिक्रिमा राखिएको, भान्छा फोहोर भएको पाईएपछि पहिलो पटकलाई चेतावनीसहित १० हजार जरिवान गरिएको सप्रजिअ परियारले बताउनुभयो । सो पसलमा बरामद गरिएको २ हजार ६ सय रुपैंया बराबरको मिठाई र २ हजार ४ सय रुपैंया बराबरको दही नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।


त्यसैगरी मध्यपुर थिमि नगरपालिकाले उपप्रमुख तथा अनुगमन समितिका संयोजक अन्जनादेबी मधिकर्मीको नेतृत्वमा शंखधर चोक र बहाखाबजार क्षेत्रका मिठाई पसलहरुमा गरिएको अनुगमनका क्रममा गुणस्तरहिन रंग प्रयोग गरेको र बढी मात्रामा प्रयोग गरीएको, खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र नलिईकन प्याकिङ सामान बिक्री गरिएको, सरसफाइमा लापरबाही गरिएको, खाद्य पदार्थमा नापतौल मिश्रण र मूल्यसूचीविना बिक्री गरिएको पाइएको छ ।


अनुगमनका क्रममा टोलीले कोलकत्ता स्वीट्स, लक्ष्मी स्वीट्स एण्ड चाट हाउस, बैष्णबी स्विट्स एण्ड चाट हाउस, शिव मिठाई भण्डार, भवानी स्वीट्स , धनुषा एण्ड धनुषा मिठाई भण्डार, शंखधर मिठाई पसल र केही फुटपाटमा सञ्चालित तिहार बिशेष पसलहरूमा अनुगमन गरेको थियो ।
टोलीले शंखधर चोकस्थित कोलकत्ता स्वीट्सलाई व्यवसाय दर्ता गर्नु पर्ने, भान्छाको सरसफाईमा जोड दिनुपर्ने, खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिएर मात्रै प्याकिङ सामान बिक्री गर्न निर्देशन दिइएको छ । बहाखाबजारस्थित लक्ष्मी स्वीट्स एण्ड चाट हाउस बाट अखाद्य रङग प्रयोग गरिएको ३ किलो ६ सय ग्राम रातो पुरी नष्ट गरी अखाद्य रङको प्रयोग नगर्न, मिठाई छोपेर राख्न, व्यवसाय दर्ता गर्न र बाटो छेउमा मिठाई नपकाउन निर्देशन दिइएको छ । त्यस्तै श्री सिद्धि बिनायक स्वीट्स एण्ड चाट हाउसबाट बिग्रिएको ३ किलो मिठाई नष्ट गरीएको छ । भवानी स्वीट्सलाई अखाद्य रङग प्रयोग नगर्न, मिठाईमा लेबल खुलाएर राख्न र नियमित सरसफाई गर्न निर्देशन दिइएको छ । बैष्णबी स्वीट्स एण्ड चाट हाउसलाई नापतौल मेशिन नवीकरण गर्न र सरसफाइमा ध्यान दिन जोड दिइएको छ ।


टोलीले शंखधर चोकस्थित तिहारको लागि आवश्यक भाइमसला लगायतका सामाग्री बेच्न राखिएको फुटफाट पसलबाट ३ बोरा भाइमसला जफत गरी नष्ट गरेको छ । नन्दन कुमार जैशवालद्धारा सञ्चालित पसलमा बिक्रिका लागि राखिएको प्याकेट गरिएको भाइमसला कुहिएको र ढुसी परेको पाईएपछि जफत गरी नष्ट गरिएको नगर उपप्रमुख अञ्जनादेवी मधिकर्मीले बताउनुभयो । त्यस्तै न्यु धनुषा एण्ड धनुषा मिठाई भण्डारबाट लेबल नभएको मिल्क केक पाँच ¥याकेट जफत गरी नष्ट गरिएको छ ।
अनगुमनपछि उपप्रमुख मधिकर्मीले संक्षिप्त प्रतिक्रिया दिँदैं उपभोक्ता स्वयम् पनि सचेत हुनुपर्ने र खरिद गरेका वस्तुको गुणस्तर जाँच गर्नुपर्ने बताउनुभयो । उहाँले अनुगमनलाई चाडपर्व लक्षित मात्र नगरी नियमित सञ्चालन गरिने र अनुगमनले व्यवसायीहरुलाई सचेत पार्दै गुणस्तरिय वस्तु र सेवा बिक्रिका लागि प्रोत्साहित हुने विश्वास व्यक्त गर्नुभयो । अनुगमनका क्रममा स्थानीय उपभोक्ताहरुले तिहारको मुखमा भएको मिठाई पसल अनुगमन कार्यलाई सकारात्मक रूपमा लिएको र अनुगमनसँगै कारवाही पनि गर्नुपर्ने सुझाव दिएका थिए ।


उपप्रमुख मधिकर्मी नेतृत्वको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय प्रतिनिधि लुमा श्रेष्ठ, खाद्य अनुसन्धान अधिकृत शिवप्रसाद भण्डारी, घरेलु तथा साना उद्योगका सहायक हरिदत्त जोशी, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष मनोज थापा , बाणिज्य संघ ईकाई अध्यक्ष राज भक्त जोशी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, वडासदस्य सुजन पौडेल, वडा सदस्य तथा अनुगमन समिति सदस्य दिपेन धेके, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।