राती ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

भक्तपुर, कार्तिक १६
जिल्ला प्रशासन कार्यालय भक्तपुरले तिहारमा राती ९ बजेपछि देउसी भैलो र नाचगानका कार्यक्रम नगर्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मंगलवार एक सूचना जारी गर्दै तिहारमा देउसी भैलो, नाचगान लगायतका कार्य राती ९ बजेसम्म मात्र सभ्य एवम् शान्तिपुर्वक गर्ने र त्यस्ता कार्य गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गरी कुनै गतिविधि नगर्न र नगराउन आग्रह गर्नुभएको हो ।
प्रजिअ शर्माले सूचनाको उलंघन गरे कानुन बमोजिम कारवाही हुने समेत जनाएको छ । तिहारमा पटका पड्काउन र आतिसवाजी गर्न समेत निषेध गरेको प्रजिअ शर्माले बताउनुभयो । ‘पटका, आतिसवाजी जस्ता प्रज्वलनशिल एवम् विष्पोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्रि वितरण र प्रयोग नगर्ने र नगराउने’ प्रजिअ शर्माले जारी सूचनामा उल्लेख छ ।
प्रजिअ शर्माले शान्ति सुरक्षालाई असर गर्ने कुनै कार्य नगर्न समेत अनुरोध गर्नुभएको छ । ‘मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला, झैं झगडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै कार्य नगर्ने,’ सूचनामा उल्लेख छ ।
मठमन्दिर र धार्मिक स्थलमा भिडभाड नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरी पुजापाठ गर्न आग्रह गरिएको छ । सूचनामा कोभिड १९ को संक्रमणलाई मध्येनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गरी सभ्य सुरक्षित, मर्यादित एवम् शान्तिपूर्वक दिपावलीलगायतका पर्वहरु व्यवस्थित एवम् स्वास्थ्य सतर्कता सहित मनाउन अनुरोध गरेको छ ।