जुवा खेल्ने र खेलाउनेसहित ४ जना पक्राउ

भक्तपुर, कार्तिक १६
भक्तपुरको गोल्मढीबाट प्रहरीले जुवा खेल्ने र खेलाउनेसहित ४ जनालाई सोमवार राती पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–७ गोल्मढीस्थित राजेश खायमलीको जस्ताको टहराभित्र सञ्चालित किराना पसलमा जुवा खेलीरहेको अवस्थामा खायमलीसहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जुवा खेलाउने खायमली, भक्तपुर नगरपालिका–७ गोल्मढीका ४५ वर्षिय बलराम ग्वाछा, ३६ वर्षिय प्रबिन ग्वाछा र ४९ वर्षिय रविन श्रेष्ठ छन । प्रहरीले उनीहरुको साथबाट ३ बुक तास सहित नगद ६९ हजार ७५०रुपैंया बरामद गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
खायमलीको किराना पसलभित्र पैसाको हारजित हुनेगरी जुवा खेल्ने र खेलाउने गरेको भन्ने सूचनाका आधारमा परिसरका प्रहरी निरिक्षक सुदन केसी नेतृत्वको टोलीले मंगलवार राती ११ बजे छापा मारेको थियो । पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त जगातीमा राखी आवश्यक कारवाही भइरहेको प्रनाउ गिरीले बताउनुभयो ।