एएफसी यू–२३ एसियन कप छनोट – नेपाल अंकका साथै गोलविहिन हुँदै बाहिरियो

भक्तपुर, कार्तिक १४
नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह बी मा तेस्रो हारसँगै अंक र गोल विहिन हुँदैं प्रतियोगिताबाट बाहिरिएको छ । ताजिकिस्तानमा सम्पन्न प्रतियोगितामा नेपाल समूहको ३ खेलमा १४ गोल व्यहोर्दा एक गोल पनि गर्न नसकी बाहिरिएको हो ।
नेपाल आइतवार सम्पन्न समूहको अन्तिम खेलमा लेवनानसँग ४–० ले पराजित भयो । यसअघि नेपाल पहिलो खेलमा बलियो इरानसँग ४–० र आयोजक ताजिकिस्तानसँग ६–० ले पराजित भएको थियो ।
लेवनानसँगको खेलमा पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा ३ गोल खाएको थियो । खेल अवधिभर दवाब झेलेको नेपालले लेबनानविरुद्ध २६ औं मिनेटमा पहिलो गोल खाएको थियो । टोलीले दोस्रो हाफको दोस्रो मिनेटमा नै दोस्रो गोल खायो । त्यसपछि लेबनानले ७४ औं र ८२ औं मिनेटमा गोल गर्दै फराकिलो जित निकालेको हो ।


वर्तमान राष्ट्रिय टोलीका ६ र राष्ट्रिय टोलीको अनुभव बटुली सकेका अन्य ५ गरी ११ अनुभवी खेलाडी सम्मिलिन टोलीले ताजिकिस्तानमा निक्कै कमजोर प्रदर्शन ग¥यो । टोलीले ३ वटै खेलमा कुनै कसिलो आक्रमण बुन्न सकेन । फलस्वरुप नेपालले १४ गोल व्यहोरेपनि कुनै गोल गर्न सकेन र अंक तालिकाको पुछारमा रहँदै घर फर्किन बाध्य भयो ।
नेपालले एसियन यू–२३ छनोटमा गोल गर्न नसकेको यो तेस्रो प्रतियोगिता हो । नेपालले यसअघिका दुई प्रतियोगितामा पनि गोल गर्न सकेको थिएन । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिता भर पुरै रक्षात्मक रणनीति अपनाएका थिए । उनले मिडफिल्डरलाई समेत डिफेन्समा उतारेका थिए ।
समूहमा इरान शिर्ष स्थानमा रहँदैं अन्तिम चरणको लागि छनोट भएको छ । इरानले समूहका तीन वटै खेलमा जित हासिल गर्दै ९ अंक जोड्यो । इरानले नेपाललाई ४–०, लेवनानलाई २–० र आयोजक ताजिकिस्तानलाई ३–२ ले पराजित गरेको थियो ।
आयोजक ताजिकिस्तान दुई खेलमा जित र एकमा हारका साथ ६ अंक जोडदै उत्कृष्ट दोस्रो टोलीको रुपमा अन्तिम चरणमा प्रवेश गर्ने सम्भावना रहेको छ । ताजिकिस्तानले नेपाललाई ६–० र लेवनानलाई १–० ले पराजित गरेको थियो ।