पार्टीको अधिवेशन समयमा हुन्छ – प्रधानमन्त्री देउवा

भक्तपुर, कार्तिक १९
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन निर्धारित समयमा हुने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरले नेपाल संवत ११४२, दिपावली र छठ पर्वको अवसरमा आज दुधपाटीमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री देउवाले जसले जे भने पनि नपत्याउन आग्रह गर्दै पार्टीको महाधिवेशन समयमा हुने बताउनुभएको हो ।
‘जसले जे भने पनि कुरा नपत्याउनुस, अधिवेशन समयमा हुन्छ हुन्छ,’ उहाँले भन्नुभयो । पार्टीको महाधिवेशन सम्पन्न गर्ने कुरा आफ्नो हातमा नभएको बताउँदैं देउवाले महाधिवेशन कहिले सम्पन्न गर्ने भन्ने विषय निर्वाचन समिति र क्रियाशिल सदस्यता छानविन समितिको हातमा रहेको बताउनुभयो । उहाँले कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न निर्देशन समेत दिनुभयो ।
‘अब महाधिवेशन पार्टी सभापतिको हातमा छैन । निर्वाचन समिति र क्रियाशिल सदस्यता छानविन समितिको हातमा छ । मैले चाहेर पनि हुँदैन, मैले नभने पनि हुन्छ,’ उहाँले भन्नुभयो, ‘जसले जे भने पनि नपत्याउनु होला । अधिवेशनको तयारीमा लाग्नु होला ।’
सभापति देउवाले अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव समेत दिनुभयो । ‘सकेसम्म सर्वसम्मत विधिबाट नेतृत्व चयन गर्नु, हुँदै भएन भने लोकतान्त्रिक विधि अनुरुप स्वच्छ र स्वस्थ प्रतिष्पर्धामार्फत नेतृत्व चयन गर्नु,’ देउवाले भन्नुभयो ।
निर्वाचनमा गएपछि जित हार हुनु स्वभाविक भएको बताउँदै एक आपसमा दुस्मनी नबढ्ने गरी प्रतिष्पर्धा गर्न आग्रह गर्नुभयो । ‘निर्वाचनमा जित हार हुन्छ । जित्नेले हार्नेको सहयोग लिने र हार्नेले जित्नेलाई सहयोग गर्ने वातावरण बनाउनु, जित हारले एक आपसमा दुस्मनी बढाउने गर्नुहुन्न,’ उहाँले भन्नुभयो ।


प्रधानमन्त्री देउवाले कोरोना विरुद्धको खोप लगाउन आह्वान समेत गर्नुभयो । ‘दुई पटक खोप लगाएकालाई कोरोना भएको छ । तेस्रो पटक लगाउनुपर्ने कुरा आएको छ । त्यसैले सबैले कोरोना विरुद्धको खोप लगाउनु होला,’ देउवाले भन्नुभयो ।
खोप अत्यावश्यक भएको बताउँदैं उहाँले हालैको बेलायत भ्रमणमा बेलायती प्रधानमन्त्रीले थप खोप सहयोग गर्ने बताएको जानकारी दिनुभयो । सो अवसरमा देउवाले नेपाली कांग्रेस भक्तपुर नगरसमितिले प्रकाशन गरेको नेपाल संवतको भित्तेपात्रो विमोचन गर्नुभयो ।
कार्यक्रममा बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले कुनै पनि हालतमा नेपाली कांग्रेसको शिर निहुरिने कार्य नगर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘जनताले जुन विश्वास भरोसाका साथ विजयी बनाए, त्यसको मूल्यांकन गर्दै पार्टी र नेतृत्वले मन्त्री बनाए । त्यो विश्वास र भरोसा टुटाउने छैन । कुनै पनि हालतमा तपाईंहरुको शिर निहुराउने कार्य गर्नेछैन ।’
भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीसँग थप छलफल भएको जानकारी गराउँदैं नगरकोटका जनता र पर्यटन व्यवसायीको दुःखलाई आफ्नै दुःख सम्झेर कार्य गरिदिन आग्रह गरेको बताउनुभयो ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेसका जनप्रतिनिधिहरुले मध्यपुर थिमिमा नगरप्रमुखसँग भागवण्डाको राजनीति गरिरहेको भन्दै चर्को आलोचना गर्नुभयो । उहाँले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गर्दा गर्दै केही वडामा निर्वाचन गर्नुपर्ने बाध्यता आएको बताउनुभयो ।


कार्यक्रम संयोजक एवम् नेपाली कांग्रेस भक्तपुरका उपसभापति हरि प्रसाद नेपालले तत्कालिन अवस्थामा नेपाली कांग्रेस भक्तपुर नगरसमितिले शुरुवात गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई जिल्लाले स्वामित्व लिएर निरन्तरता दिँदैं आइरहेको जानकारी दिनुभयो ।
पार्टी जिल्ला सचिव उद्धव सिलवालले सञ्चालन गरेको कार्यक्रममा नेपाल साँस्कृतिक संघका कलाकारहरुले देउसी भैलो कार्यक्रमका साथै साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।