भक्तपुर नगरकोट सडक निर्माणका लागि मन्त्री भँडेलको पहल – तिहारपछि ४५ दिन भित्र काम सम्पन्न गर्ने व्यवसायीको प्रतिवद्धता

भक्तपुर, कार्तिक १४
भक्तपुर नगरकोट सडकका निर्माण व्यवसायीले तिहारपछि ४५ दिन भित्र काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलसँगको टेलिफोन वार्तामा निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले नगरकोट सडकको काम ४५ दिनभित्र सक्ने प्रतिवद्धता जनाएको हो ।
भक्तपुरको पर्यटकिय क्षेत्र नगरकोट जाने मुख्य सडक जिर्ण अवस्थामा रहेको छ । भारतिय बैंक एक्जिमको सहयोगमा निर्माण र बिस्तार सुरु भएको ५ वर्ष बितिसक्दा पनि सो सडकको निर्माण कार्य पुरा भएको छैन । सो सडकको काम समयमा पुरा नहुँदा सो सडकमा ओहोरदोहोर गर्ने यात्रु, स्थानीय बासिन्दा र पर्यटकहरुले घाम लाग्दा धुलाम्य हुने र पानी पर्दा हिलाम्य हुने समस्या झेल्दै आएका छन ।
मन्त्री भँडेलसहित, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्री, माओवादी केन्द्र भक्तपुरका अध्यक्ष डि पी ढकाल, बागमति प्रदेशका सांसद प्रतिमा श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज दिलिप प्रजापतिलगायतको टोलीले आइतवार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उहाँकै निवासमा पुगेर भेटवार्ता गर्दै नगरकोटको सडक निर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
भक्तपुरको ठूलो समस्याको रुपमा रहेको नगरकोट सडकका निर्माण व्यवसायी अध्यक्ष दाहालको घरवेटी समेत भएकाले दाहालै नाम समेत जोडिएर गलत प्रचार हुने गरेको जानकारी गराउँदैं मन्त्री भँडेलले सो सडक निर्माण सहयोग गर्न आग्रह गरेको बताउनुभयो ।
नगरकोट सडक भक्तपुरको राजनीतिक एजेण्डा समेत बन्ने गरेको छ । गतवर्ष सम्पन्न प्रदेशसभाको उपनिर्वाचनको प्रमुख एजेण्डा यही सडक थियो । निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल र वाम गठबन्धनका उम्मेदवार डि पी ढकाल दुवैले सो सडकलाई मुख्य एजेण्डाको रुपमा प्रस्तुत गर्दै निर्वाचन जिते सो सडक निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका थिए ।
भँडेलले निर्वाचनमा जिते लगत्तै सो सडकको निर्माणका लागि पहल गर्नुभएको थियो । भँडेलको पहल र स्थानीयको समेतको दवाबले निर्माण व्यवसायीले केही काम गरेपनि कोरोनाको कारण देखाउँदै पुनः निर्माण कार्य रोकेका थिए ।
भँडेलले प्रदेशको मन्त्री नियुक्त भए लगत्तै नगरकोट सडकको निर्माणलाई पहिलो प्राथमिकतामा राखेर केन्द्रमा गठबन्धन सरकार भएकोले पनि नेकपा माओवादी केन्द्रका अध्यक्षसँग भेट गरी सहयोगको आग्रह गरिएको बताउनुभयो ।
मन्त्री भँडेलसँगको छलफलपछि अध्यक्ष प्रचण्डले तत्कालै निर्माण व्यवसायी अधिकारीसँग सो सडकको बारेमा छलफल गर्नुभएको नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्रीले बताउनुभयो । अधिकारीले प्रचण्ड र मन्त्री भँडेलसँग टलिफोनमा कुराकानी गर्दै तिहार लगत्तै काम सुरु गरेर ४५ दिनभित्र निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको मन्त्री भँडेलले जानकारी दिनुभयो ।
‘जनतासँग निर्वाचनमा गरेका हरेक प्रतिवद्धता पुरा गर्ने मेरो लक्ष्य अनुरुप नगरकोट सडकलगायत निर्वाचन प्रतिवद्धतापत्रका हरेक योजना पुरा गर्नेछु’ मन्त्री भँडेलले भन्नुभयो । उहाँले भक्तपुर नगरकोट सडक जसरी भएपनि यथासक्य छिटो सम्पन्न गराउन आफू जहाँ पनि पुग्न तयार रहेको जानकारी दिनुभयो ।