नेपाल संवतको एप तयार – कार्तिक १९ गते सार्वजनिक गरिने

भक्तपुर, कार्तिक १४
नेपाल संवतलाई वैज्ञानिक बनाउन र दैनिक प्रयोगमा ल्याउन यसको एप तयार भएको छ । अमेरिकी वैज्ञानिक संस्था नासामा कार्यरत चिफ टेक्निकल अफिसर शौनक रञ्जितकारले सो एप तयार गरेको हो ।
नेपाल संवत ११४२ को अवसरमा यही कार्तिक १९ गते सो एपलाई सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय विभुति शंखधर साख्वा प्रतिष्ठानले आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतिष्ठानले प्रत्येक वर्ष नेपाल संवतको अवसरमा मध्यपुर थिमि शंखधरचोकस्थित साख्वाको शालिकमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा माल्यापर्ण गर्दै आएको छ । सो कार्यक्रमको जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले एप सार्वजनिक गर्ने प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल संवत ठकुरी राजा राघव देवको शासनकालमा ईश्वी संवत ८७१ मा चन्द्रसौर पात्रोको आधारमा स्थापना भएको संवत मानिन्छ । काठमाण्डौंका व्यापारी शंखधर साख्वाले देशलाई ऋण मुक्त गराएको दिन नेपालको नाममा यो संवत चलाएको इतिहास रहेको छ ।
चन्द्रमाको गतिलाई आधार बनाई निर्माण भएको नेपाल संवतमा चन्द्रमाले १२ डिग्री पार गर्न लिने अवधीलाई तिथीको रुपमा लिईन्छ । चन्द्रमाले शुन्य डिग्रीदेखी १२ डिग्री पार गर्न लिने समयलाई एक दिन अर्थात महिनाको पहिलो दिन पारु या प्रतिपदा भनिन्छ ।
नेपाल संवतको एप पूर्ण स्वचालित पात्रो भएको र यसले विगत र भविष्यको कुनै पनि वर्षको पात्रो निर्माण गर्न सक्ने विशेषता भएको प्रतिष्ठानका निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धरले बताउनुभयो । नेपाल संवतको एपले नेपालमा प्रचलित र विक्रम संवत र अन्तराष्ट्रिय रुपमा प्रचलित ईश्वी संवतको तिथी मिति समेत तुलना गर्न सकिने व्यवस्था छ । एपले चाडपर्वको सुची समेत उपलब्ध गराउँछ । यो एपमा प्रयोगकर्ताले रोजेको भाषा नेपाली, अंग्रेजी र नेपाल भाषामा चलाउन र हेर्न मिल्ने व्यवस्था रहेको मानन्धरले जानकारी दिनुभयो ।
प्रतिष्ठानले माल्यापर्ण कार्यक्रममा बुलेटिन प्रकाशनका साथै नेपाल संवतको प्रवद्र्धनमा योगदान दिने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने र साँस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिने प्रतिष्ठानका निवर्तमान अध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।
साँस्कृतिक झाँकी व्यवस्थापनका लागि पत्रकार एवम् संस्कृतिकर्मी विनोद कोजु र समाजसेवी कृष्णलाल गोजा श्रेष्ठले संयोजन गरिरहेको छ भने बुलेटिन प्रकाशनका लागि अग्रज पत्रकार एवम् शिक्षाकर्मी ज्ञानराम श्रेष्ठले संयोजन गरिरहेको छ ।