‘मणिमण्डप महाविहार’ मा ‘कथिन चीवर दान’ सम्पन्न (फाेटाे फिचर सहित)

कथिन चीवर दान, मणिमण्डप महाविहार, पट्काे

सुनीता तुलाधर, ललितपुर, कार्तिक १३ 

भिक्षु सुमेध महास्थविरले कथिन चीवर भिक्षु संघसँग सम्बन्धित भएकोले सर्वप्रथम संघगुणबारे बुझ्नुपर्ने बताउनुभएको छ । अग्ग महासद्धम्म जोतिकधज भिक्षु शीलभद्र महास्थविरले ४६ औं वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा पट्को, ललितपुरस्थित ‘मणिमण्डप महाविहार’मा शनिवार आयोजित ‘कथिन चीवर दान’ कार्यक्रममा भिक्षु सुमेध महास्थविरले ९ वटा संघगुण स्मरण गराउनुभयो ।

उहाँले निर्वाण प्राप्तिका लागि भगवान बुद्धले देखाउनु भएको बाटोमा सही तरिकाले लागिरहेका श्रावकहरुको संघ भएकोले ‘सुप्पटिपन्नो भगवतो सावकोसंघो’ भनिएको बताउनुभयो । उहाँका अनुसार ९ वटा गुणहरुमा सुप्पटिपन्नो, उजुप्पटिपन्नो, ञायप्पटिपन्नो, सामिचीप्पटिपन्नो, अट्ठ–पुरिसपुग्गला, आहुनेय्यो, पाहुनेय्यो, दक्खिणेय्यो, अञ्जलिकरणीयो, अनुत्तरं पुञ्ञक्खेत्तं हुन ।

भगवान बुद्धको समयमा उहाँका श्रावकहरु कस्तो आचरण गरी निर्वाण प्राप्त गर्दछन भन्ने विषयमा धम्मपदमा रहेको चक्खुपाल स्थविरको विषयमा उहाँले उपदेश दिनुभयो ।

धर्मदेशना पश्चात भिक्षु महासंघलाई मंगलदास एवं गंगा अवालेसहित सपरिवारले कथिनचीवर दान गर्नुभएको थियो । साथै श्रद्धालु उपासकउपासिकाहरुले अष्ट परिष्कार पनि दान गर्नुभएको थियो ।

कार्यक्रमको शुरुवातमा कथिनदाता मंगलदास अवालेको निवास खपिन्छेँ, ललितपुरदेखि बाजागाजाका साथ शोभायात्रा गरि कथिनचीवरलाई विहार पुर्याइएको थियो ।

कार्यक्रमको अन्तमा उपस्थित उपासकउपासिकाहरुले विभिन्न विहारहरुबाट आउनुभएका भिक्षुगण, गुरुमाहरुलाई दान प्रदान गरेका थिए ।