आपराधिक घटना न्युनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक – प्रमुख प्रजापति

भक्तपुर, कार्तिक १३
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजमा नयाँ खालका अपराधको संख्या बढिरहेको हुँदा नयाँ पुस्तालाई नै सजग र सचेत गराउन आवश्यक भएको बताउनुभएको छ ।
भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघ, भक्तपुर लेडी जेसिस, बनसी खुला क्षेत्र संरक्षण समाजले संयुक्तरुपमा शनिवार आयोजितको शुभकामना आदानप्रदान तथा तथा सामाजिक सुरक्षामा नेपाल प्रहरीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रजापतिले शान्ति सुरक्षा कायम गर्ने र आपराधिक घटना न्युनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक भएको बताउनुभएको हो ।
‘समाजमा नयाँ नयाँ खालका आपराधिक घटना बृद्धि भइरहेका छन । चोरी, ठगी, लुटपाट, हिंसाका घटनाबाट नागरिक स्वयम्ले सचेत तथा सुरक्षाका सावधानी अपनाउनुपर्छ । शान्ति सुरक्षा कायम गर्ने र आपराधिक घटना न्युनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक छ,’ उहाँले भन्नुभयो ।


न्यायलयभित्रको विवादले आम जनताको न्यायलयप्रतिको आस्था कमजोर बनाएको टिप्पणी गर्दै नगरप्रमुख प्रजापतिले जनताको हित र पक्षमा वकालत गर्नुपर्नेहरुको हर्कतबाट आम जनतालाई आश्चर्यचकित बनाएको बताउनुभयो ।
विद्युतीय सामग्रीहरुको महत्व दिन प्रतिदिन बढिरहेको अवस्थामा ती सामाग्रीहरु सबै विदेशबाट आयात गर्नुपर्दा नेपाल परनिर्भरतातर्फ धकेलिँदै गएको बताउँदैं उहाँले व्यवसायीहरुले विद्युतीय सामग्रीहरु नेपालमै उत्पादन गर्ने योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नयाँ बस्तीमा पनि पुरानो बस्तीमा जस्तै सामाजिक सद्भाव कायम गर्न वडाले विविध गतिविधि सञ्चालन गर्दै आएको बताउँदैं नगरपालिकाले व्यवस्थित आवास योजना सञ्चालन गरी नयाँ बस्तीमा खुला क्षेत्र कायम, सडक कालोपत्रे, विद्युत आपूर्ति, सडक बत्ती व्यवस्थापन, खानेपानी सुविधाको निम्ति बोरिङ आदि कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै आएको जानकारी दिनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको अवस्थाको स्थितिबारे प्रस्तुतीकरण गर्दै प्रहरी प्रशासनले सामाजिक सदुभाव र समाजलाई सभ्य र सुरक्षित बनाउन विविध कार्यक्रम सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघका अध्यक्ष माधवप्रसाद प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा वनसी खुला क्षेत्र संरक्षण समाजका अध्यक्ष विकास दुवाल र संघका लेडी जेसीसका रञ्जना चापागार्इँ खबुर्जाले पनि अपराधका घटना न्यूनिकरणका लागि नागरिकले विना बर्दीको प्रहरीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।