स्पेनिस संसदीय प्रतिनिधिमण्डल भक्तपुर दरवारस्क्वायरको अवलोकन

भक्तपुर, कार्तिक १२
युरोपेली मुलुक स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडो नेतृत्वको सांसदहरुको टोलीले बिहिवार साँझ भक्तपुरको अवलोकन भ्रमण गर्नुभएको छ । भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिलु महादेव मन्दिर र चर्तुब्रम्ह महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गर्नुभएको थियो ।


अवलोकनका क्रममा स्पेनको सभामुख डेल्गाडो सम्मिलित प्रतिनिधिमण्डलले भक्तपुरका सांस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक सम्पदाहरुको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो । सो अवसरमा टोलीको स्वागतमा भक्तपुर नगरपालिकाले व्यवस्था गरेको सांस्कृतिक नाचहरु माक प्याखं, कवांचा प्याखं र जंगली प्याखं प्रदर्शन गरिएको थियो ।
अवलोकनपछि स्पेनका सभामुख डेल्गाडोले भक्तपुरका सम्पदाहरु संसारकै उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भक्तपुर नगरको आतिथ्यता सदा स्मरणमा रहने बताउँदैं यहाँको ऐतिहासिक कला संस्कृतिले मोहित पारेको बताउनुभयो ।


बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका स्पेनको २४ सदस्यीय संसदिय टोलीलाई नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रदेश सभासद् सुरेन्द्रराज गोसाइँलगायतले पुष्पगुच्छा, भादगाउँले टोपी, खादा, परम्परागत थैली र जुजु धौं प्रदान गरी भक्तपुर दरबार क्षेत्रको प्रवेशद्धारमा स्वागत गर्नुभएको थियो ।


प्रमुख प्रजापतिले टोलीको बिदाइमा सभामुख डेल्गाडोसहितको प्रतिनिधिमण्डल टोलीलाई मयुरको झ्याल र नगरपालिकाका प्रकाशनहरु मायाको चिनो स्वरुप उपहार प्रदान गर्नुभएको थियो । स्पेनी टोलीमा स्पेनका प्रदेशमन्त्री, मेयर, पत्रकार, व्यापारीहरुलगायत सहभागी थिए ।