भँडेल बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त

भक्तपुर, कार्तिक १२
नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता कृष्णलाल भँडेल बागमति प्रदेशको मन्त्री बन्नुभएको छ । भक्तपुरको निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भँडेल बिहिवार बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बन्नुभएको हो ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त भए लगत्तै भँडेल पनि बन्त्री बन्नुभएको हो ।
सत्ता गठबन्धनका दलहरुबीच नेकपा एकिकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो मुख्य मन्त्री चलाउने सहमति बनेसँगै बागमति प्रदेशमा पाण्डेले बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री दावी गर्नुभएको थियो ।


कांग्रेसले पाण्डे नेतृत्वको सरकारमा संसदिय दलका उपनेता भँडेलको नेतृत्वमा सरकारमा जाने निर्णय बमोजिम पहिलो चरणमा कांग्रेसकातर्फबाट भँडेल मन्त्री बनेका हुन ।
वि. सं. २०७४ सालमा सम्पन्न प्रदेशसभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ को प्रदेशसभा क्षेत्र नं. १ बाट तत्कालिन वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता हरिशरण लामिछाने (हरि गुरु) निर्वाचित भएका थिए । उनको असामयिक निधनपछि गत वर्षको मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा भँडेल निर्वाचित भएका थिए । उहाँले तत्कालिन नेकपाका उम्मेदवार डी पी ढकाललाई पराजित गर्नुभएको थियो । निर्वाचित भएलगत्तै बागमति प्रदेश संसदिय दलका उपनेता चुनिएका भँडेल खरो स्वभावका र स्पष्ट वक्ता हुन ।
भँडेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ गराएका थिए । शपथ ग्रहण लगत्तै मन्त्रालयमा पुगेर भँडेलले कार्यभार समेत सम्हाल्नुभएको छ ।