भक्तपुरको दुवाकोट क्षेत्रमा म्याद नाघेका खाद्यवस्तू बिक्रिमा

भक्तपुर, कार्तिक ११
चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटका खाद्य पसलमा म्याद नाघेका र मासु पसलमा फोहोर मासु बिक्रिका लागि राखिएको पाइएको छ । नगरपालिकाले बिहिवार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तु र फोहोर मासु बिक्रिका लागि राखिएको पाईएको हो ।
नगर उपप्रमुख विणा बास्तोलाको नेतृत्वको टोलीले बस्ताकोटी मिनी स्टोर, बस्ताकोटी दुध डेरी, लाइभ मिट जोन, ढकाल दुध डेरी, काभ्रे दुनोट पसल, पाथीभरा खाद्य स्टोर, न्यू चोङ्गा गणेश मिटसपलगायतको अनुगमन र निरिक्षण गरेको थियो । अनुगमनमा उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामाग्रीहरु फेला परेको बजार अनुगमन अधिकृत निला घिमिरेले जानकारी दिनुभयो । तयसैगरी पसल दर्ता नभएको, मुल्य सुची नराखेको र मासु पसल तथा खाजा घर सफा नभएको पाईएको घिमिरेले बताउनुभयो ।


बजार अनुगमन टोली समक्ष केही पसल सञ्चालकले घरभेटीले गर्दा पसल दर्ता गर्न नपाएको गुनासो गरेका थिए । पसल सञ्चालकले व्यवसाय दर्ता गर्ने चाहना हुँदा हुँदै पनि घरभेटीले आवश्यक कागजपत्र उपलब्ध नगराउँदा दर्ता गर्न नसकिएको जवाफ टोलीलाई दिएको थियो । दुवाकोटमा कपडा पसल संचालन गर्ने एक व्यवसायीले भन्नुभयो, “घरको कागजपत्र छैन् भन्दै दिनु भएको छैन् हामीले दर्ता गर्न पाएनौं ।”
घरबहाल करको कारणले गर्दा दुवाकोटका धेरै घरधनीहरुले पसल संचालकसँग घरभाडा सम्झौता नगर्दा वडा कार्यालय र कर कार्यालयमा दर्ता गर्न नपाएको उप प्रमुख बाँस्तोलासँग व्यवसायीले गुनासो गरेका थिए ।
अनुगमन टोलीमा राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मी, संचारकर्मीसहित चाँगुनारायण नगरपालिकाको प्रतिनिधि सहभागी थिए ।