अनुगमन टोलीद्धारा चाँगुनारायण नगरपालिकामा दुई फार्मेसी गरे बन्द

भक्तपुर, कार्तिक १२
चाँगुनारायण नगरपालिकाले औषधी बिक्रिका लागि आधिकारिक व्यक्ति पसलमा बसेको नपाईएपछि दुई वटा फार्मेसीलाई बन्द गराएको छ । नगरपालिकाले शुक्रवार गरेको बजार अनुगमनका क्रममा औषधी बिक्रिका लागि आधिकारिक व्यक्ति पसलमा बसेको नपाईएपछि नगरको वडा नं. ७ मा रहको सार्थक फार्मेसी र वडा नम्बर ५ मा रहेको खरिपाटी फार्मेसी बन्द गराएको हो ।
‘अनुगमनका क्रममा फार्मेसीको प्रमाण पत्र लिएको व्यक्ति नबसी औषधी बिक्रिका लागि अर्को व्यक्ति बस्ने गरेको पाईएपछि सार्थक र खरपाटी फार्मेसी बन्द गराएको हो,’ नगरपालिकाकी प्रशासन अधिकृत निलाकुमारी घिमिरेले भन्नुभयो ।


औषधी बिक्रि गर्ने फार्मेसी सञ्चालनका लागि फार्मेसी अध्ययन गरेको व्यक्तिले स्वास्थ्य विभागबाट अनुमति लिएर मात्र औषधी बिक्रि गर्न पाईने व्यवस्था छ । सो व्यवस्था विपरित औषधी पसलमा जो पनि बस्ने गरेको भन्ने गुनासो बढेपछि नगरपालिकाले शुक्रवार नगर क्षेत्रको औषधी बिक्रि गर्ने फार्मेसी पसलको अनुगमन गरेको अधिकृत घिमिरेले बताउनुभयो ।
नगर उपप्रमुख वीणा बाँस्तोला नेतृत्वको टोलीले फार्मेसीमा सम्बन्धीत व्यक्ति मात्रै बसेर औषधी बिक्रि गर्न निर्देशन दिएको छ ।
यसैगरी खाद्य सामाग्री विक्रि गर्ने किराना पसलले म्याद गुजे्रको खाद्य सामाग्री बिक्रि गर्ने गरेको फेला परेको छ । अनुगमनमा क्रममा उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामाग्रीहरु फेला परेको र म्याद गुजे्रका सामाग्री जफत समेत गरेको थियो ।


टोलीले जुगल एग्रि कल्चर एण्ड मिट सप, दी फेमली बेकरी, हिरालाल किराना स्टोर, व्यक्त खाद्य तथा किराना स्टोर, जोसपारी खाजाघर, अप्सरा फेन्सीलगायत ४० वटा व्यवसायको अनुगमन र निरिक्षण गरेको नगरपालिकाले जनाएको छ ।
सोे क्रममा केही व्यवसाय दर्ता नभएका, मूल्यसुचि नभएको, उपभोग्य मिति सकिएका सामाग्रीहरु बिक्रिका लागि राखिएको र खाजा घरमा फोहोर भेटिएको घिमिरेले बताउनुभयो । टोलीमा राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला प्रशासन कार्यालय भक्तपुरकी अधिकृति लुमा श्रेष्ठ, सुरक्षाकर्मी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।