दशैंलाई सिर्जनशील र रचनात्मक क्षेत्रमा सदुपयोग गर्नुपर्ने ः अध्यक्ष बिजुक्छेँ

भक्तपुर, असोज २५
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले दशैंलाई सिर्जनशील र रचनात्मक क्षेत्रमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाले सोमवार आयोजना गरेको विजया दशमी २०७८ को शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष बिजुक्छेंले संस्कृतिसँगै भित्रिने विकृति र बिसंगतिबारे जनतालाई सचेत पार्दै दशैंलाई सिर्जनशील र रचनात्मक बनाउनुपर्ने बताउनुभएको हो ।
उहाँले दशैं र तिहारमा कोभिड संक्रमणको खतरा बढ्ने हुँदा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ पुस्तालाई पठनीय अध्ययन सामाग्री जुटाउनतिर बुद्धिजीवी वर्ग अग्रसर हुनुपर्ने बताउनुभयो ।
संख्यात्मक हिसाबले ठूलो पार्टी हुँदैमा उनीहरूको विचार र सिद्धान्तसँग सहमत हुन नसकिने विचार राख्दै अध्यक्ष बिजुक्छेँले शासक दलको पूर्वाग्राही व्यवहारका कारण आजका दिनसम्म ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति नपाएको जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरी नगरलाई थप सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताउँदैं उहाँले आवास क्षेत्रमा भारी सवारीसाधन प्रवेश निषेधमा रोक लगाउनुपर्ने र जनतालाई नक्साबमोजिम घर निर्माण गर्ने विषयमा उत्साहित गर्नुपर्ने बताउनुभयो ।
छिमेकी देश भारतले नेपाललाई आर्थिक रुपले माथि उठ्न नदिन अनेक षड्यन्त्रका गतिविधिहरूलाई बढावा दिइरहेको आरोप लगाउँदैं उहाँले परमादेशबाट बनेको सरकारले देश र जनताको हितमा जनअपेक्षाअनुसार काम गर्ने कुरामा विश्वास गर्न नसकिने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले न्यायिक समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी प्रकाश पार्दैै महिला हिंसा, जग्गा विवाद, पारिवारिक झैझगडा जस्ता न्यायिक समितिमा दर्ता भएका मुद्दाहरूको न्यायोचित ढंगले सम्बोधन गर्दै आएको बताउनुभयो ।
कला, संस्कृति र भाषा विनाको पहिचान अधुरो हुने बताउँदै उपप्रमुख जोशीले स्थानीय पाठ्यक्रम लागू गरी भक्तपुरका विद्यार्थीहरूलाई सभ्य र सुसंस्कृत बनाउने प्रयास गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले दशैं बिदामा नगरपालिकाले दैनिक र नियमित गर्नुपर्ने सरसफाइ, पर्यटन, अनियमित निर्माण नियन्त्रणलगायतका विभिन्न क्षेत्रको कामहरु सम्बन्धित कर्मचारीहरुले जिम्मेवारीपूर्वक गर्नुहुन निर्देशन दिँदैं कर्मचारीहरुको निःस्वार्थ कर्तव्यपालनले नगरपालिकाको छवि उजिलिने बताउनुभयो ।