साफ च्याम्पियनसिप २०२१ – नेपाल भारतसँग पराजित, फाइनल समिकरण खुला

भक्तपुर, असोज २५
दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) २०२१ को फाइनल समिरकण खुला भएको भएको छ । च्याम्पियनसिपको आइतवार राती नेपाल भारतसँग पराजित भएपछि फाइनल समिकरण खुला भएको हो ।
भारतिय कप्तान सुनिल क्षेत्रीले खेलको अन्त्यतिर गोल गरेपछि नेपाल भारतसँग पराजित भएको हो । फारुख चौधरीको फ्लिक हेडरमा सुनिलले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।
खेलमा आक्रमण भन्दा पनि भारतलाई बराबरीमा रोक्ने रणनीति बनाएको नेपालले एक गोलले पछि परेको अवस्थामा आक्रमणलाई जोड दिएको थियो । रक्षात्मक खेल्दै प्रत्याक्रमणमा जोड दिएको नेपालले भारतका एकपछि आक्रमणलाई निस्तेज पारेको थियो ।
भारतले सिर्जना गरेको आक्रमणमा नेपालको डिफेन्स लाइन र कप्तान किरण लिम्बु बाधक बने । खेलको अन्तिम समयतिर डिफेन्स र गोलरक्षकबीच तालमेलको कमीको फाइदा उठाउँदै सुनिलले विजयी गोल गरेका थिए ।


यसअघि खेलको २५ औं मिनेटमा गोलरक्षक किरणले भारतको आक्रमण बचाउँदै नेपालको खतरा टारे । ३४ औं मिनेटमा सुनिल क्षेत्रीले खालि पोस्टमा गोल गर्न नसक्दा नेपाल पछि पर्नबाट जोगिएको थियो । सुरेश वाङजामको क्रसमा गोलरक्षक किरण समेत बिट भइसकेपछि ६ यार्ड बक्सभित्र खाली पोस्टको अघि अनमार्क रहेका सुनिलले गरेको फितलो प्रहार पोस्टबाट बाहिरिएको थियो ।
यस्तै खेलको ५७ औं मिनेटमा भारतका मनबिर सिंहले गोलको अवसर गुमाए । सिंहको फ्रि हेडर नेपालका कप्तान तथा गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे । ७६ औं मिनेटमा भारतले सिर्जना गरेको अर्को अवसरमा किरण बाधक बने । ब्रान्डनको फ्रिकिकमा सुनिलले मिलाएको फ्लिक हेडरलाई सुभाशिश बोसले अन्तिम प्रहार गरेका थिए । सुभाशिशको अन्तिम हेडर सिधै किरणको हातमा टुंगिएको थियो । ८१ औं मिनेटमा कर्नरमा सुनिलको हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो । नेपालले दुबै हाफमा भारतविरुद्ध कुनैपनि डरलाग्दो पोस्ट आक्रमण गर्न सकेन ।


साफ इतिहासमै पहिलो पटक राउण्ड रोविन लिग अनुसार खेलाईएको प्रतियोगितामा सहभागी टोली मध्ये श्रीलंका बाहेक सबै टोलीले तीन तीन खेल खेली सकेको छ । जसमध्ये नेपाल दुई जित र एक हारसहित ६ अंकका साथ शिर्ष स्थानमा रहेको छ भने आयोजक माल्दिभ्स समान ३ खेलका ६ अंक जोडेपनि नेपालसँग हेड टु हेडको आधारमा दोस्रो स्थानमा रहेको छ । भारत एक जित र दुई बराबरीसँगै ५ अंकका साथ तेस्रो र बंगलादेश एक जित, एक हार र एक बराबरीका साथ ४ अंकसहित चौंथो स्थानमा रहेको छ । श्रीलंका भने ४ खेलका एक अंक बटुल्दै प्रतियोगिताबाट बारिहएको छ ।
प्रतियोगिताको अन्तिम चरणका दुई खेल बुधवार हुँदैछ । जसमध्ये पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ भने अन्तिम खेलमा आयोजक माल्दिभ्स र भारतले प्रतिष्पर्धा गर्नेछ ।

लिग चरणका अन्तिम दुई खेल बराबरीमा सकिए नेपाल र माल्दिभ्स फाइनलमा प्रवेश गर्नेछ । त्यसैगरी अन्तिम दुई खेल सेमिफाइनल सरह हुनेछ । दुवै खेलमा जित निकाल्ने टोली फाइनलमा प्रवेश गर्नेछ ।