प्रजिअ शर्माको कडा निर्देशनपछि निकोशेराको खाल्डाखुल्डी पुरियो

भक्तपुर, असोज २६
प्रमुख जिल्ला अधिकारीको कडा निर्देशनपछि काठमाण्डौं उपत्यका सडक बिस्तार आयोजनाले मध्यपुर थिमि–९ निकोशेराको खाल्डाखुल्डी पुरेको छ । भक्तपुरका विभिन्न सडकका खाल्डाखुल्डी पुरेर चाडपर्वमा सवारी आवागमन सहज बनाउन आइतवार प्रजिअ रुद्रादेवी शर्माले सडकसँग सम्बन्धीत कार्यालयका प्रमुखहरुको बैठक गरी कडा निर्देशन दिनुभएको थियो ।
अरनिको राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको पेप्सीकोला, पुरानो थिमि, निकोशेरा, सल्लाघारी सडकको निकोशेरा खण्डमा ठूला ठूला खाल्डाखुल्डीले सवारी आवगमनमा अवरोध आउनुका साथै दुर्घटनाको जोखिम बढेको व्यापक जनगुनासो बढेपछि प्रजिअ शर्माले आयोजनालाई २४ घण्टा भित्र खाल्डाखुल्डी पर्न निर्देशन दिनुभएको थियो ।
आयोजनाले सोमवार खाल्डाखुल्डीमा ग्राभेल हालेर पुर्नुका साथै ग्रडेरले सम्याई रोलरले पेलेर सवारी आगमन सहज बनाएको प्रजिअ शर्माले बताउनुभयो । दशैंका अवसरमा काठमाण्डौं पुर्व जाने सवारीको चाप अरनिको राजमार्गमा बढेपछि पेप्सीकोला सल्लाघारी सडकमा समेत सवारीको चाप बढेको छ ।