इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने – अध्यक्ष बिजुक्छेँ

भक्तपुर, असोज १५
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । शैक्षिक सत्र २०७७÷७८ का लागि ख्वप इन्जिनियरिङ कलेजमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण गर्दै अध्यक्ष बिजुक्छेंले इन्जिनियरहरुले आफुमा भएको सीप, ज्ञान र कुशलताको उचित उपयोग गरेर समाज र देशको हितमा काम गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले शिक्षा क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर नजाने बताउँदैं सबै स्थानीय तहहरुले कलेज तथा विश्वविद्यालय सञ्चालन गरेमा जनताले सस्तोमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने बताउनुभयो । उहाँले वैदेशिक सहयोगमा भएका सम्पदा पुनःनिर्माण र विकास आयोजनाले देशको सार्वभौमिकतामाथि असर पु¥याएको बताउनुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुमा समाज र देशको निम्ति काम गर्ने भावना हुनुपर्ने बताउँदैं इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुमा इमानदारिताको खाँचो आंैल्याउनुभयो ।
स्थानीय तहले सञ्चालन गरेको ख्वपअन्तर्गतका कलेजबाट देशभरिका विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्ने अवसर पाएको जानकारी दिनुभयो । भक्तपुर नपाले सञ्चालन गरेका कलेजहरु सेवामुखी भएको दावी गर्दै उहाँले समाजको निम्ति चिन्तन गर्ने जनशक्ति पूर्ति गर्न यी कलेजहरुको स्थापना भएको बताउनुभयो ।
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवम नगरपालिकाका उपप्रमुख रजनी जोशीले अर्थक्वेक, अर्बान डिजाइन र कन्जर्भेसन विषयको महत्वबारे प्रष्ट पार्दै पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र सम्बद्र्धनमा यी विषयहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा अर्थक्वेक र अर्बान डिजाइन विषयको अध्यापन ख्वप इन्जिनियरिङ कलेजबाट सुरु भएको र सम्पदा संरक्षण तथा सभ्य सहर निर्माणमा यी विषयहरु महत्वपूर्ण विषयको रुपमा रहेको बताउनुभयो ।