ख्वप अस्पतालले जनतालाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ ः अध्यक्ष बिजुक्छेँ

भक्तपुर, असोज १६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह गर्नका लागि व्यवस्थापन पक्ष बलियो हुनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालका स्टाफ नर्सहरुसँग शुक्रवार भेटघाट गर्दै अध्यक्ष बिजुक्छेंले जनतालाई सरल र सहज तरिकाले गुणस्तरीय सेवा प्रदान गर्न अस्पतालको व्यवस्थापन सवल हुनुपर्ने बताउनुभएको हो ।
उहाँले ख्वप अस्पताल स्थापनाको उद्देश्य तथा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरुको काम, कर्तव्यहरुबारे अभिमुखीकरण गर्दै जनताको साथ र सहयोगबाट निर्माण भएको ख्वप अस्पतालले जनतालाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ख्वप अस्पतालले जनताको विश्वास कायम हुने गरी सेवा प्रवाह गर्नुपर्छ ।
उहाँले ख्वप अस्पतालले समाजवादी सिद्धान्तअनुरुप जनताको निःस्वार्थ रुपमा सेवा गर्नुपर्नेमा जोड दिनुभयो । ख्वप अस्पतालमा कार्यरत चिकित्सकहरुले व्यक्तिगत स्वार्थको लागि नभई समाजको हितको निम्ति काम गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, ‘हामीले गरेको असल कामले समाजलाई पनि राम्रो बनाउँछ ।’
सो अवसरमा ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालबाट हुने सेवा प्रवाहमा जनताको गुनासो र विरोध हुने कुनै पनि काम नगर्न सचेत पार्दै चिकित्सकहरुको असल व्यवहारका कारण जनताको अस्पतालप्रति अपनत्व कायम हुने बताउनुभयो ।
उहाँले ख्वप अस्पतालले अरु अस्पतालभन्दा फरक ढंगले सेवा दिने विश्वास दिलाउँदैं नगरपालिकाको काम र सेवाप्रति जनता खुशी भएका कारण अक्सिजन प्लान्ट निर्माणमा अपार साथ र सहयोग रहेको बताउनुभयो ।