भक्तपुरमा एक दिने फुटसल प्रतियोगिता हुने

भक्तपुर, असोज ५
बडादशैंको अवसरमा भक्तपुरमा एक दिने फुटसल प्रतियोगिता हुने भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ८, ईंटबुमा अवस्थित हेल्दी फुटसलले यही असोज १६ गते प्रथम हेल्दी फुटसल प्रतियोगिता २०७८ आयोजना गर्न लागिएको सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
प्रतियोगितामा २० देखी ३२ टोलीको सहभागिता रहने अपेक्षा गरिएको आयोजक समितिका संयोजक श्यामकृष्ण प्रजापतिले जानकारी दिए । नकआउटका आधारमा खेलाईने प्रतियोगिता असोज १६ गते बिहान ७ बजेदेखी बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ । प्रत्येक खेल १५ मिनेटको हुने छ । निर्धारित समयमा खेल बराबरी भए सिधै टाईब्रेकरबाट खेलको निर्णय गरिने छ ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्धितिय हुने टोलीलाई नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी वेष्ट गोलकिपर, वेष्ट प्लेयर र फेयर प्ले अवार्ड पनि प्रदान गरिने छ ।
कोभिड १९ को कहरले खेलकुद क्षेत्रलाई पनि प्रभावित बनाएको र कोभिडका कारण खेल गतिविधि कम भएको अवस्थालाई मध्यनजर गर्दै खेल क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिता आयोजना गरिएको अर्का सञ्चालक उज्वल धौभडेलले बताए । ‘फुटसलको विकास र खेलाडीहरुको प्रतिभालाई उत्प्रेरित गर्ने उद्देश्यले पनि यो प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने ।
हेल्दी फुटसलले खेलको विकास र खेलाडीलाई प्रोत्साहन स्वरुप विगतमा टेबल टेनिस, व्याडमिन्टन जस्ता खेल प्रतियोगिता गरेको जानकारी दिँदैं फुटसल प्रतियोगिता सञ्चालक समितिका रविन धौभडेलले आगामी दिनमा बक्सिङलगायतका प्रतियोगिता गर्ने योजना रहेको बताए ।