तीनदिने भक्तपुरको मुपात्र जात्रा आजबाट शुरु

????????????????????????????????????

लक्ष्मी गारु, भक्तपुर, असोज ६
ईन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आज साँझबाट शुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको मुपात्र जात्रा भक्तपुरमा आश्विन कृष्ण द्धितियादेखि चौथीसम्म तीन दिन मनाइन्छ ।
जात्रामा मूपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीनजनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्ग लगाई शृगांरपटारका साथ तरवार समात्न लगाई भक्तपुर नगर पुरै परिक्रममा गराउने प्रचलन छ । नगर परिक्रमा गर्दा भक्तपर नगरको टोल टोलमा ठड्याइ राखेको यमःद्योलाई मुपात्र राक्षसले तीनपटक घुमेर तरवारले हाने गर्दछ ।

जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भिमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दिप) बालिन्छ । याँमता त्रिशुल आकारको हुन्छ । त्रिशुलमा जस्तै माथि फर्किएका तीन वटा टुप्पामा बालिने बत्ति नै याँमता अर्थात आकाश दिप हो । साथै आजै तचपालस्थित स“ला गणेशलाई खटमा राखी भक्तपुर शहर परिक्रममा गराई सँला गणेश जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा निकाल्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमाहरुमा परिक्रमा गराइन्छ ।

जात्राको दोस्रो दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय छुमा गणेशकहाँ गएर सुकुना बालेर आईसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा शुरु गरिन्छ । याँमता बालिसकेपछि चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरवार स्क्वायरको तलेजु भवानीको दशर्न गराइन्छ । याँमता दरवार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मुपात्र जात्रा गरी नगर परिक्रमा गराईन्छ । राती सँला गणेश र छुमा गणेशलाई आ–आफनो द्योःछे (देवगृह)मा पु¥याईन्छ ।

जात्राको तेस्रो दिन अर्थात आश्विन कृष्ण चौथीका दिन तमारीमा रहेको आकाश भैरवलाई गुठी संस्थान कार्यालयवाट विधिवत रुपमा बली सहितको सरकारी पुजा गरिन्छ। पुजा सकिएपछि तल्लो टोलहरु तपालछीं र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुना बालेर ल्याउँछ । त्यही सुकुनामा बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता बालिन्छ । बालीसकेपछि याँमतासँगै त्यसको पछाडी तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । यस दिन जात्रामा नायखिङ (खड्गी समुदायको विषेश)बाजा बजाएर भैरवनाथको खटलाई नगर परिक्रमा गराइन्छ ।

भैरवको खट जात्रा गरेपछि स्थानिय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रो माथि नीलो कपाडाले छोपेर अगाडीको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा शुरु गरिन्छ । तमारीको भैरव मन्दिर अगाडि तीन पटक घुमेर पुलुकिसी जात्रा शुरु गर्छ । जात्रामा पुलुकिसीलाई चार जना मानिसले बोकेर ल्याईन्छ भने एक जनाले पुलुकिसी भित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।

जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधा भन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा निकालिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्छ ।

ईन्द्रजात्रा सम्बन्धी लोककथन अनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन ब्रत बस्न पारिजात फूलको खाँचो प¥यो । ईन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फुल खोज्न पठाए । जयन्त पारिजातको फुल खोज्दै दैत्यहरुको बगैंचामा प्रवेश गरे । दैत्यहरुले पक्रेर दोवाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा ईन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यहरुसँग लगाई गरे । लडाईमा ईन्द्रको जित भयो । दैत्यहरुले ईन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर क्षमायाचना गर्छन । सो क्रममा दैत्यहरुलाई जनतामाझ शहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थहरुमा उल्लेख भएबमोजिम ग्रन्थको कथामा आधारित गरी यो जात्रा प्रारम्भ गरिएको किवंन्दती रहेको इतिहास तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।
जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ । सो अनुसार मुपात्र बन्ने व्यक्तिलाई अछुतको व्यवहार गरिन्छ। त्यसैले यो जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँकालाई मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ ।