नेपाली कांग्रेस भक्तपुरको नगरअधिवेशन – नेतृत्व आफ्नो पक्षमा पार्न नेताहरुको दौडधुप

भक्तपुर, असोज ४
नेपाली कांग्रेस भक्तपुरको वडा अधिवेशन सकिएसँगै नेताहरु नगरअधिवेशनको तयारीमा जुटेका छन । वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरुको जोड घटाउ गर्दै नेपाली कांग्रेस भित्रका विभिन्न समूह र उपसमूह गठबन्धन बनाउँदैं नगरको नेतृत्व हत्याउने कसरत गर्दैछन । नगरको नतिजाले क्षेत्र र जिल्लाको अधिवेशनलाई समेत प्रभावित पार्ने भएकाले नेताहरु कसरी नगरको नेतृत्व आफ्नो पक्षमा पार्ने भन्ने कसरतमा जुटेका हुन ।
भक्तपुरमा कांग्रेसको नगरअधिवेशन असोज ९ गते हुँदैछ । सर्वसम्मत नेतृत्व चयन नभए असोज १० गते निर्वाचन गर्ने तयारी छ । नगरअधिवेशन नजिकिएसँगै नेपाली कांग्रेस भित्रका विभिन्न समूह र उपसमूहबीचको गठबन्धन बन्ने र भत्किने क्रम पनि चलिरहेको छ । विगतमा एक ठाउँमा उभिएका समूहहरु यसपटक छुट्टिएका छन भने विगतमा प्रतिष्पर्धामा रहेका समूहहरुले यसपटक गठबन्धन गरेका छन । यसले गर्दा नगर सभापतिका आकांक्षीहरुबीचबाट उम्मेदवार छान्न नेताहरुलाई सकस परेको छ ।
भक्तपुरमा जिल्ला सभापति दुर्लभ थापा, पुर्व जिल्ला सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, अष्ट कवे, कविर राणा, विनोद कायष्ठलगायतको समूह सक्रिय छन । त्यसैगरी बाबुराजा जोशी, कृष्णलाल भँडेल, राजनकाजी त्वाती, प्रविन वन, राजाराम खड्का, हरिप्रसाद नेपाल, उद्धव सिलवाल, धर्मराज थापा, विजेश अवाल, विदुरमानसिं बस्नेतलगायतका नेताहरुको विभिन्न उपसमूह पनि क्रियाशील देखिन्छ ।
१३ औं महाधिवेशनमा दुर्लभ थापा गणेशमान चक्रधरको सहयोगमा जिल्ला सभापति बनेका थिए । पहिलो चरणमा अलग अलग प्रतिष्पर्धा गरेका थापा र चक्रधर दोस्रो चरणमा एक भएका थिए । विगतमा एकै समूहमा रहेका महेश श्रेष्ठ र राजाराम खड्का १३ औं महाधिवेशनका दौरान जिल्ला सभापतिको दोस्रो चरणको निर्वाचनमा खड्काले दुर्लभ थापाको साथ दिएपछि श्रेष्ठ र खड्का अलग भएका हुन । खड्का अहिले पनि थापाको समूहमा छन । प्रदेशसभा सदस्य समेत रहेका भँडेलले थापा समूहलाई सघाउने स्रोतले बताए ।
यसपटक वडा अधिवेशनमा छुट्टाछुट्टै प्रतिष्पर्धा गरेका कवे र चक्रधरले नगरअधिवेशनदेखी गठबन्धन गर्ने करिव करिव पक्कापक्की भएको स्रोतको दावी छ । यो समूहमा कविर राणा र विनोद कायष्ठ पनि समाहित हुने भएका छन । कवे र चक्रधरबीच गठबन्धन भए बाबुराजा जोशी, राजनकाजी त्वाती, हरिप्रसाद नेपाल, उद्धव सिलवाल, धर्मराज थापा, विजेश अवाललगायतका नेताहरु यसै समूहमा रहने छन ।
पुर्व जिल्ला सभापति महेश श्रेष्ठले वडा अधिवेशनमा कवेसँग सहकार्य गरेपनि नगरअधिवेशनमा नगर्ने अवस्था रहेको छ । श्रेष्ठले मध्यपुर थिमिको नगरसभापति माग गरेकोमा चक्रधर र कवेले असहमति जनाएपछि कवे र श्रेष्ठको सहकार्य टुट्ने अवस्थामा पुगेको स्रोतले बताए ।
नगर अधिवेशन नजिकिएसँगै नगर सभापतिका आकांक्षीहरु पनि खुल्न थालेका छन । यद्यपी गठबन्धन बन्ने र भत्किने क्रम चलिरहेका कारण सूर्यविनायक नगरपालिकामा बाहेक अन्य पालिकामा कुनै पनि समूहले उम्मेदवार टुंगो लगाउन सकेका छैन ।
मध्यपुर थिमिमा पुनः हरिदास र सुरेन्द्र भिड्ने सम्भावना
मध्यपुर थिमिको नगरसभापतिमा वर्तमान नगरसभापति सुरेन्द्र श्रेष्ठ, हरिदास प्रजापति, ओम श्रेष्ठ, राम थापामगर, अनिल श्रेष्ठ, उमेश खड्का आकांक्षी देखिएका छन । दुलर्भ थापा समूहका सुरेन्द्र वर्तमान नगर सभापति पनि हुन ।


हरिदास यसअघि कवेको समूहबाट सभापतिमा प्रतिष्पर्धा गरेका थिए । यसपटक उनी चक्रधरको समूहबाट सभापतिमा उठने तयारी गरिरहेका छन । ओम र उमेश पुर्वजिल्ला सभापति महेश श्रेष्ठ समूहका हुन । राम र अनिल कवे समूहका हुन ।

    

कवे र चक्रधरको गठबन्धन बने जिल्ला अधिवेशनसम्म सहकार्य गर्ने सर्तमा कवेले हरिदासलाई समर्थन गर्ने प्रवल सम्भावना रहेको बताईन्छ । यसो भयो भने अनिल र रामलाई कार्यसमितिको पदाधिकारीमा उचित स्थान दिने तयारी भएको स्रोतको भनाई छ । यद्यपी रामले कुनैपनि हालतमा सभापतिको उम्मेदवारीबाट पछि नहट्ने अडान लिएको बताईएको छ ।


मध्यपुर थिमिमा महेश श्रेष्ठ समूहले कवेसँगको सहकार्य टुटेपछि थापा समूहसँग सहकार्य गर्न सक्ने स्रोतको दावी छ । यसो भए पुनः १३ औं मा जस्तै हरिदास र सुरेन्द्रबीच नगर सभापतिको लागि प्रतिष्पर्धा हुने छ । महेश श्रेष्ठले उमेशलाई उपसभापतिमा व्यवस्थापन गरी अन्य पदमा भागबण्डा गरी अघि बढ्ने तयारी गरेको स्रोतले बताए ।

सूर्यविनायकमा ढुंगेल र राणा भिड्ने
यसैक्रममा सूर्यविनायक नगर समितिको नेतृत्व हत्याउन जिल्ला सचिव समेत रहेका निशान ढुंगेल र सूर्यविनायक नगर समितिका उपसभापति समेत रहेका रवि राणा अघि सरेका छन । ढुंगेल दुर्लभ थापा समूहका र राणा कविर राणा र विनोद कायष्ठ समूहका हुन । राणालाई अष्ट कवे र गणेशमान चक्रधर समूहको पनि समर्थन रहेको बताईएको छ ।

सभापतिका दुवै आकांक्षीले पदाधिकारीसहितको प्यानल समेत सार्वजनिक गरेका छन । ढुंगेलको नेतृत्वमा उपसभापतिमा रमण कायष्ठ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमीर ढुंगाना र सुरेश केसी प्रतिष्पर्धामा छन । त्यसैगरी ढुंगेलको समूहबाट दुई जना क्षेत्रीय प्रतिनिधिको लागि अम्बिका थापा र शशि बस्नेतले प्रतिष्पर्धा गर्नेभएको छ ।
यस्तै राणाको नेतृत्वमा उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमलसिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामेले प्रतिष्पर्धा गर्दैछन ।
भक्तपुर नगर समितिको नेतृत्वको लागि ५ जना दौडमा
भक्तपुर नगर सभापतिमा रविन्द्र प्रधान, अनिल भुजु, प्रविण लाखे, राजेन्द्र तमाखु र शिव अवाल अघि सरेका छन । प्रधान जिल्ला कार्यसमिति सदस्यका साथै पुर्व नगरसभापति हुन । उनी नेपाल बार एशोसियसन भक्तपुरको अध्यक्ष समेत हुन । उनी नेपाली कांग्रेसको संस्थापन पक्ष देउवा र जिल्ला सभापति दुर्लभ थापा पक्षका हुन ।
त्यसैगरी कांग्रेसका पुर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाको समूहबाट प्रविण लाखेले नगर सभापति दावी गरेका छन । उनी लामो समय विद्यार्थी संघमा बसेर राजनीति गरिरहेका युवा हुन ।


त्यसैगरी जिल्लाका नेता अष्ट कवेको समूहबाट भक्तपुरमा शिव अवाल नगर सभापतिको आकांक्षी रहेका छन । कवे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला खेमाका हुन । उनी केन्द्रमा प्रकाशमान सिंह समूहका हुन । तर सिंह समूहकै अनिल भुजुले पनि भक्तपुर नगरसभापतिमा दावी गरेका छन । भुजु यसअघि प्रदेशसभाको निर्वाचनमा भक्तपुर नगरमा प्रत्याशी बनेका थिए ।
भक्तपुर नगरका अर्का प्रभावशाली नेता एवम् वरिष्ठ अधिवक्ता बाबुराजा जोशीको समर्थनमा राजेन्द्र तमाखु पनि नगर सभापतिको दौडमा देखिएका छन । जोशी पुर्वजिल्ला सभापति गणेशमान चक्रधर समूहका हुन । भक्तपुरमा चक्रधर र कवेको समूहबाट तमाखुले उम्मेदवारी दिने सम्भावना रहेको छ ।

जिल्लामा चार स्थानीय तहमध्ये भक्तपुर नगरपालिका नेपाल मजदुर किसान पार्टीको वर्चश्व भएको नगर हो । यहाँ पछिल्लो निर्वाचनमा कांग्रेस निक्कै कमजोर देखिएको थियो ।
कांग्रेस स्रोतका अनुसार भक्तपुर नगरमा पाँच जना आकांक्षी भएपनि सर्वसम्मत गर्ने प्रयास भइरहेको छ । विषेशगरी पुराना अग्रजलाई नेतृत्व दिएर अघि बढ्ने सोचका साथ छलफल चलिरहेको स्रोतको दावी छ । भक्तपुर नगरभित्र संगठन कमजोर हुँदै गएकाले यसलाई सशक्त ढंगले पुनः संगठित गर्न सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने कोणबाट सर्वसम्मत गर्ने प्रयास भइरहेको स्रोतले बताए ।
चाँगुनारायणमा दुई रेडक्रसकर्मी भिडन्तको तयारी
चाँगुनारायण नगर सभापतिमा शिवहरी केसी र मनोज कुमार थापा अघि सरेका छन । केसी गणेशमान चक्रधर समूहका हुन । उनी चाँगुनारायण नगरपालिका २ का वडाअध्यक्ष र चाँगुनारायण नगर सभापति समेत हुन । केसीले जिल्ला सभापति दुर्लभ थापाको समेत समर्थन खोजीरहेको बुझिएको छ । उहाँले देउवा प्यानल एक ठाउँमा उभिनु पर्दछ भन्दै आफुलाई संस्थापन पक्षको एकमात्र उम्मेदवारको रुपमा अघि सार्ने तयारी गरिरहेको स्रोतको दावी छ ।
उता थापा अमूक समूहको भन्दा पनि कांग्रेसलाई एक ढिक्काका साथ अघि बढाउन सबै समूहको समर्थनमा सभापतिको उम्मेदवारी दिने तयारीमा रहेको बताउँछन ।


थापा र केसी दुवै रेडक्रसकर्मी पनि हुन । थापा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति एवम् पुर्व केन्द्रीय सदस्य हुन भने केसी नेपाल रेडक्रस सोसाईटी भक्तपुरका उपमन्त्री हुन । यसले चाँगनारायण नगर सभापतिमा दुई रेडक्रसकर्मीको भिडन्त हुने देखिएको छ ।
दुर्लभ थापा समूहले केसीले चक्रधर समूह छाडे मात्र समर्थन गर्न सकिने बताएको स्रोतले जानकारी दिए । केसीले चक्रधर समूहबाट उम्मेदवारी दिए थापा समूहले मनोजलाई समर्थन गर्ने तयारीमा रहेको स्रोतको दावी छ । चाँगुनारायणमा उत्तमकुमार खड्काले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छ ।