लोहकिल्थलीमा ६० युवा कांग्रेसमा प्रवेश

भक्तपुर, असोज ३
नेपाली कांग्रेस मध्यपुर थिमि १ वडा इकाई समितिका नवनिर्वाचित पदाधिकारीहरुले आइतवार पदभार ग्रहण गरेका छन । समितिको निवर्तमान सभापति बाबुकाजी डंगोलले नवनिर्वाचित सभापति विजयकृष्ण खड्कालाई पद हस्तान्तरण गरे लगत्तै नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन ।
पद हस्तान्तरण अघि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरु तथा क्षेत्रीय प्रतिनिधिहरुलाई विशेष अदालतका पुर्वन्यायाधिश बाबुराम रेग्मीले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सो अवसरमा रेग्मीले निर्वाचनको प्रक्रियाले नेतृत्व चयन गर्नु विश्वकै उत्कृष्ट लोकतान्त्रिक प्रक्रिया भएको बताउनुभयो । उहाँले कांग्रेसीले कांग्रेसीलाई मतदान गरी सम्पन्न निर्वाचनमा कसैको हार जित नभएको तर विधि र पद्धतीको जित भएको बताउनुभयो । उहाँले निर्वाचनमा प्रतिष्पर्धा गरेका दुवै समूहले एक अर्कामा सहकार्य गरी अघि बढे आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा मध्यपुर थिमि १ लोहकिल्थली क्षेत्रमा अन्य पार्टीको कुनै जोड नचल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता अष्ट कवेले कांग्रेसलाई थप सशक्त बनाउन अधिवेशनले उर्जा प्रदान गर्ने बताउनुभयो । नयाँ नेतृत्वलाई नयाँ सोच र कार्यक्रमका साथ संगठनलाई अघि बढाउन सुझाव दिँदैं नेता कवेले पार्टीले अग्रजको सम्मान गर्दै नयाँले संगठनको अवसर पाउँदै जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले कांग्रेसको गढ मध्यपुर थिमिका केही नेताहरुको गैर जिम्मेवार गतिविधिले अन्य दलले शिर उठाउने मौका पाएको चर्चा गर्दै अधिवेशनले त्यस्ता नेताहरुलाई पाखा लगाउँदै जानुपर्ने बताउनुभयो ।
नेता कवेले जिल्ला सभापतिको आकांक्षी रहेको जानकारी दिँदैं जिल्लाका सबै नेताहरुको सरसल्लाहमा अघि बढ्ने बताउनुभयो । “फेरी एक पटक जिल्लाको नेतृत्वको लागि अघि बढ्ने विचारमा छु । त्यसका लागि जिल्लाका सबै नेताहरुसँग छलफलमा छु । सबैको सल्लाह अनुसार अघि बढ्ने तयारी गर्दैछु,” उहाँले भन्नुभयो ।
नवनिर्वाचित वडा सभापति विजयकृष्ण खड्काले स्थानीय समाजसेवी, बुद्धिजीवि, कांग्रेसका पुराना अग्रज नेताहरुको सरसल्लाहमा सबै पक्षसँग सहकार्य गरी पार्टीलाई गतिशिल बनाउने, सशक्त संगठनको रुपमा आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“पार्टीको नेतृत्व कसले गर्ने भन्ने सवालमा अधिकांश सदस्यहरुले आफुलाई चुनेपनि प्रतिष्पर्धामा रहेका साथीहरुको मतलाई कदर गरेर सहकार्य गरी अघि बढ्ने छु,” खड्काले भन्नुभयो । उहाँले वडा सभापतिका निकतम प्रतिष्पर्धी रत्न कुमाललाई कार्यसमिति सदस्यमा मनोनित गरेको घोषणा समेत गर्नुभयो ।
निवर्तमान इकाई सभापति बाबुकाजी डंगोलले आफ्नो कार्यकालको पार्टी गतिविधि प्रस्तुत गर्दै नयाँ नेतृत्वले थप उर्जाशिल ढंगले पार्टीलाई अघि बढाउन सुझाव दिनुभयो ।
कार्यक्रममा निवर्तमान इकाई सचिव दिलकृष्ण प्रजापति, नवनिर्वाचित सचिव सुरेश बस्नेत, मध्यपुर थिमि नगर उपसभापति हरिभक्त हेकालगायतका नेताहरुले अधिवेशनको तिक्ततालाई भुल्दै पार्टीलाई एकढिक्का बनाएर लानुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेकपा एमाले, नेमकिपा, नेकपा माओवादी केन्द्र परित्याग गरी करिव ६० जना युवाहरु कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशी युवाहरुलाई नेता कवे, नवनिर्वाचित वडा सभापति खड्का र निवर्तमान सभापति डंगोलले टिका र खाँदा लगाई दिएर स्वागत गर्नुभएको थियो ।