प्रेमिकासँगको अश्लिल तस्विर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने युवक पक्राउ

भक्तपुर, भाद्र २८
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले प्रेम सम्बन्धमा रहँदा प्रेमिकासँग खिचेको अश्लिल तस्विर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका – ८, घरभई हाल काठमाण्डौं टोखा धनेश्वर बस्ने २३ वर्षिय सुजन जिरेल छन ।
पहिले प्रेमिकासँग प्रेम सम्बन्धमा हुँदा खिचेका फोटो, भिडियो अहिले सम्बन्ध बिग्रिएपछि फेसबुक र इन्स्टाग्राममा पोस्ट गर्ने कसुरमा उनलाई काभ्रेको पाँचखालबाट पक्राउ गरिएको महाशाखाका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
महाशाखाका अनुसार जिरेलले प्रेमिकाको मोबाइल खोसेर मोबाइलमा रहेको फोटो र भिडियो फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए । एसपी कोइरालाका अनुसार काठमाडौंमा बस्ने जिरेलकी प्रेमिकाले आइतबार महाशाखामा उजुरी दिनुभएको थियो । प्रेम सम्बन्धमा हुँदा उनीहरुले एकअर्काको आइडी–पासवर्ड पनि शेयर गरेका थिए । यसको फाइदा उठाउँदै जिरेलले प्रेमिकाकै आइडीबाट अश्लिल भिडियो र फोटो अपलोड गरेका थिए ।
पक्राउ परेका जिरेल विरुद्ध विद्युतीय कारोबार ऐन कसुरमा आवश्यक कारबाहीको लागि सोमबार महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाइएको महाशाखाले जानकारी दिए ।