प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगितामा नरहरिपुर डोजो प्रथम

भक्तपुर, भाद्र २८
प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगितामा नरहरिपुर डोजो प्रथम भएको छ । मध्यपुर थिमिको बोडेस्थित कुमारी मन्दिर परिसरमा सोमवार सम्पन्न प्रतियोगितामा नरहरिपुरले ३ स्वर्ण, २ रजत र ३ कास्य पदक जित्दै समग्रमा टिम च्याम्पियन भएको हो ।
मध्यपुर थिमि नगरपालिका र शिव शिखर बहुउद्देश्य सहकारी संस्थाको प्रायोजनमा शंखधर शाखा डोजोले आयोजना गरेको दुई दिने प्रतियोगितामा वादोकाइ डोजोले ३ स्वर्ण र २ कास्यका साथ दोस्रो स्थान हात पारे । प्रतियोगितामा २ स्वर्ण, १ रजत र १ कास्य जितेको चन्द्रागिरी बेसिक सितोरियोले तेश्रो स्थान हात पारे । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार जिते ।


करातेतर्फ पुरुषमा लगनखेलका विपिनसिंह दर्जी तथा महिलामा चन्द्रागिरी बेसिककी स्वस्तिका केसी उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टले पुरस्कार स्वरुप माउन्टेन बाइक प्राप्त गरे ।
प्रतियोगिताको किक बक्सिङतर्फ मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले स्वर्ण पदक जिते । पुरुष ४५ केजीमा रोशनले विष्णुदेवी डोजोका सुनिल ठगुन्ना तथा ५० केजीमा बुद्धले एनएसकेका धनबहादुर सुनुवारलाई फाइनलमा पराजित गर्दै स्वर्ण हात पारेका थिए ।
पुरुष एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धर पहिलो तथा चन्द्रागिरीका सन्दिप राई दोश्रो भए । सोही स्पर्धाको महिलामा नरहरिपुरकी सन्जु देशारले स्वर्ण तथा प्रयागपोखरीकी सुभद्रा थापाले रजत जिते ।


पुरुष ३० केजीमा बौद्धका प्रभात मगरले विष्णुदेवीका सोनम लामा, ४० केजीमा विष्णुदेवीका राजेश मानन्धरले इचङगुनारायणका सेभेन श्रेष्ठ तथा ३५ केजीमा विष्णुदेवीका सन्देश लामाले नरहरिपुरका ओम ठाकुरलाई फाइनलमा हराउदै पहिलो स्थान हात पारे । महिला ३० केजी फाइनलमा मानसिंह डोजोकी अनु मोक्तानले लुभूकी प्रमिला पाख्रिनलाई पन्छ्याउदै शीर्ष स्थान कब्जा गरिन् ।
विजेता खेलाडीहरुलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले पुरस्कार वितरण गरे । यसअघि प्रतियोगिताको उद्घाटनका अवसरमा आयोजक डोजोले आठौं र नवौं सागका स्वर्णधारी कारतेका दीपक श्रेष्ठ, सागका ४ स्वर्ण पदक विजेता तेक्वान्दोका दीपक विष्ट, रेफ्री काउन्सिलका संयोजक राजेन्द्र कपालीलगायतलाई सम्मान गरेको थियो ।
दुईदिने प्रतियोगितामा ४ सय ७५ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक मन्डेकाजी श्रेष्ठले जानकारी दिए ।
तस्विर ः नगरप्रमुख मदनसुन्दर श्रेष्ठको फेसबुकबाट