पिडित केन्द्रीत न्याय व्यवस्था र यसको कार्यान्वयन हुनुपर्नेमा जोड

भक्तपुर, भाद्र २९
मानव बेचबिखन र बाल संरक्षणको सवालमा पिडित केन्द्रीत न्याय व्यवस्था र यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिईएको छ । सेन्टर फर लिगल रिसर्च एण्ड रिसोर्स डेभलम्प्मेन्ट(सेलर्ड)ले भक्तपुरका सञ्चारकर्मीहरुलाई मंगलवार आयोजना गरेको मानव बेचबिखन तथा बाल संरक्षणबारे अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले मानव बेचबिखन र बाल संरक्षण सम्बन्धमा समाचार संप्रेषण गर्दा पिडितको न्यायलाई जोड दिनुपर्ने बताएको हो ।
‘सुरक्षाका लागि साथ– साथ परियोजना’अन्तर्गत सञ्चारकर्मीहरुलाई मानव बेचबिखन र बाल अधिकार संरक्षणका विषयमा जानकारी दिन र पीडितको अधिकारबारे दक्षता बृद्धि गर्नका लागि सेलर्डले सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अवधारणा, कानूनी व्यवस्था र अन्तर सम्बन्ध सम्बन्धी प्रस्तुतीकरण गर्दै काठमाडौं स्कूल अफ ल का सहप्राध्यापक कपिल अर्यालले विभिन्न खाले प्रलोभनमा परेर शिक्षित र उच्च घरानाका सदस्य समेत मानव तस्करीको जालमा परेर बेचबिखनमा पर्ने गरेको बताउनुभयो ।


उहाँले मानव बेचबिखन जस्तो जघन्य अपराध न्यूनिकरणका लागि सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो । अमेरिकादेखी अफ्रिकाको केन्यासम्म विभिन्न बहानामा मानव तस्करी हुने गरेको र एक अध्ययनले क्यूवापछि अमेरिकामा हुने मानव तस्करीका घटना र पिडितको संख्यामा नेपाल दोस्रो रहेको बताउनुभयो ।
पिडितले नै अन्यलाई बेचबिखन गर्ने गरेको घटना समेत रहेको बताउँदैं सहप्राध्यापक अर्यालले तस्करहरुले वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई समेत अमेरिकालगायतका युरोपका धनी मुलुकमा पठाउने भनी बेचबिखन गर्ने गरेको तथ्यांक प्रस्तुत गर्नुभयो ।
उहाँले नेपालका विकट पहाडी भूभागका गरिव बालबालिकाहरुलाई उचित शिक्षा दिक्षा दिने नाममा राजधानीलगायत ठूला शहरमा ल्याई बालगृहमा राख्ने र त्यहाँ उनीहरुलाई देखाएर विदेशी दाताबाट सहयोग लिई आयआर्जन गर्ने गरेको बताउनुभयो ।
उहाँले मानव तस्करहरुले शहरमा आरामदायी जीवन जिउन पाईने, धनी मानिससँग बिवाह गराईदिन्छु, धर्म सन्तान बनाउने, शहरमा राम्रो जागिर लगाइदिने, व्यापारमा लगाईदिने, कलाकार वा मोडल बनाईदिने, शहरको राम्रो विद्यालयमा पढाईदिने र शहरमा घुम्न र रमाइलो गर्न जाने जस्ता प्रलोभनमा पारेर बेचबिखन गर्ने गरेको पाईएको जानकारी दिनुभयो ।
सहप्राध्यापक अर्यालले नेपालका बालगृहहरु नै बालअधिकार हननको केन्द्र बनिरहेको जानकारी दिदैं सरकारको नीति अनुसार सेलर्डले बालगृहको अन्त्यका लागि कार्य गरिरहेको बताउनुभयो । उहाँले बाल अधिकार संरक्षणका लागि स्थानीय सरकारको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले बाल अधिकार र बाल संरक्षणको विषयमा स्थानीय तहलाई अधिकार दिइएको उल्लेख गर्दै अझ पनि बाल अधिकारको विषयलाई स्थानीय तहले प्राथमिकतामा राख्ने नगरेको बताउनुभयो ।
सोही कार्यक्रममा अधिवक्ता सुखदेव सापकोटाले पीडितको अधिकार, पीडित केन्द्रीत न्याय व्यवस्था र त्यसको कार्यान्वयन विधि, बाल संरक्षणसम्बन्धी अवधारणा र मूलभूत कानूनी व्यवस्था, पीडित केन्द्रीत समाचार सम्प्रेषणबारे प्रस्तुती दिँदैं सञ्चारकर्मीहरुले पिडितको न्यायलाई केन्द्रमा राखी कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले रहेक घटनालाई नजिकबाट नियाल्न सक्ने सञ्चारकर्मीहरुले पीडितलाई न्याय हुने गरी समाचार, सूचना प्रकाशन र प्रशारण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले बालअधिकारको संरक्षण हुन नसक्दा बालबालिकाहरु समस्यामा पर्ने गरेको, बालबालिकाहरु विभिन्न खाले यौन दुव्र्यहार, यौन हिंसाको सिकारमा पर्न बाध्य भएको बताउनुभयो ।
अधिवक्ता सापकोटाले मावन बेचबिखन, मानव तस्करी, ओसारपसारजस्ता विषय गहन र मानव अधिकारसँग जोडिएकाले सोबारेमा समाचार सम्प्रेषणको क्रममा संवेदनशीलता अपनाउनुपर्ने सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले सञ्चारकर्मीहरुलाई पुनर्ताजगी गराउन, परिवर्तीत कानुनी व्यवस्थाका बारेमा जानकारी दिलाउन समय समयमा यस्ता अभिमुखीकरण कार्यक्रमको खाँचो रहेको बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा महासंघ भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्का, आयोजक सेलर्डका प्रतिनिधि अधिवक्ता जमूना पसछें, महासंघका सचिव संजीप घिमिरेलगायतले मानव बेचबिखन तथा बाल संरक्षणका विषयमा चर्चा गर्नुभएको थियो ।