भक्तपुर नगरपालिकाका सफाई मजदुरहरुलाई कम्पोष्ट मल बनाउने तालिम

भक्तपुर, भाद्र २३
भक्तपुर नगरपालिकाले सफाई मजदुरलाई जापानी प्रविधि रिकीसी विधिद्धारा फोहोरबाट कम्पोष्ट मल बनाउने तालिम प्रदान गरेको छ । नगरको कुहिने फोहोरलाई कम्पोष्ट मल बनाई उपयोगमा ल्याउने र नगरलाई थप सफा बनाउने उद्देश्यले नगरपालिकाले आफ्ना ३० जना सफाई मजदुरलाई १० दिने सो तालिम प्रदान गरेको हो ।
सो तालिमको उद्घाटन गर्दै नगरप्रमुख सुनिल प्रजापतिले नगरको फोहरमैला व्यवस्थापन सम्बन्धी परम्परागत प्रविधिलाई नयाँ प्रविधिमार्फत रुपान्तरण गर्ने प्रयासमा रहेको बताउनुभयो । उहाँले सिंगो भक्तपुरलाई सफा र स्वस्थ नगर बनाउन रिकीसी विधि उपयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
नगरको फोहर व्यवस्थापनमा दैनिक १ सय ५० भन्दा बढी सफाई मजदुरहरु क्रियाशील रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुरलाई अझ सुन्दर बनाउन, कृषि उत्पादन वृद्धि गर्न र आर्थिक उपार्जन गर्न यस विधि उपयोगी हुनेछ ।”
उहाँले नगरको फोहर व्यवस्थापनकै क्रममा कुहिने र नकुहिने फोहर अलग अलग संकलन गर्दै आएकोमा हाल आधुनिक प्रविधिको प्रयोग गरी कुहिने बस्तुहरूलाई गन्ध नआउने गरी कम्पोष्ट मल बनाई सस्तोमा किसानहरूलाई बिक्री वितरण गरी आय आर्जन गर्ने श्रोतको रुपमा विकास गरिने लक्ष्य नगरपालिकाले लिएको बताउनुभयो ।
भक्तपुर कृषिप्रधान र कृषकहरुको बाहुल्यता भएको जिल्लाको रुपमा परिचित भएको बताउनुहुँदै उहाँले कुहिने फोहरलाई मलको रुपमा परिणत गर्दा यहाँका किसानहरु लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण समितिका संयोजक रबिन्द्र ज्याख्वले फोहोर व्यवस्थापनबारे तालिम सञ्चालन गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै भक्तपुर नपाले वैज्ञानिक ढंगले कुहिने फोहरलाई गन्धरहित किसिमले व्यवस्थापन गर्न विभिन्न ठाउँहरुको अध्ययन अवलोकनपश्चात रिकीसी विधि अपनाउने प्रयासमा रहेको बताउनुभयो । भक्तपुर नपाले आफ्नै स्रोत साधन र कर्मचारीहरुबाट नगरको फोहर व्यवस्थापन गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा रिकीसी कम्पोष्ट प्लान्टका प्राविधिक सल्लाहकार किमुरा गोरोले भक्तपुरलाई विश्व जगतमा सफा, सुन्दर र व्यवस्थित नगरको रुपमा परिचित गर्न फोहरमैला व्यवस्थापनको उचित विधि अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले फोहोर व्यवस्थापनको प्रविधि वातावरणमैत्री हुनुपर्नेमा जोड दिँदैं यस प्रविधिको प्रयोगबाट भक्तपुर अझ सफा नगरको रुपमा परिचित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
रिकीसी कम्पोष्ट प्लान्टका दीक्षा श्रेष्ठले रिकीसी कम्पोष्ट विधिबारे संक्षिप्त जानकारी दिँदैं पुरानो प्रविधिबाट वैज्ञानिक ढंगले फोहरमैला व्यवस्थापन गर्नु नै यस विधिको विशेषता भएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ८ का वडाध्यक्ष एवम् वातावरण समितिका सदस्य महेन्द्र खायमली र भक्तपुर नपा श्यानिटेशन उपशाखाका प्रमुख दिलिपकुमार सुवालले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । तालिममा भक्तपुर नपाको फोहरमैला व्यवस्थापनमा कार्यरत ३० जनाभन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।