नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रचारात्मक नारा तय

भक्तपुर, भाद्र २२
नेपाली कांग्रेसले पार्टीको आसन्न १४औँ महाधिवेशनको प्रचार प्रसारको लागि प्रचारात्मक नारा तय गरेको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको मंगलवार बसेको भर्चुअल बैठकले महाधिवेशनका लागि ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण, सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने नारा तय गरेको हो ।
विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न बैठकले महाधिवेशनको पूर्व सन्ध्यामा नीति र विचार केन्द्रीत कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । “नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको लागि ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ,” विभागका सचिव दिनेश थापा मगरले भन्नुभयो, “उक्त कार्यक्रममा सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रुपान्तरणका दर्जन बढी बिषयमा ‘प्यानल डिस्कसन’ गरिनेछन् ।”
‘चिन्तन चौधौँ महाधिवेशन’ कार्यक्रम संयोजनको जिम्मेवारी विभागका उपप्रमुख डा सुरेश आचार्यलाई दिइएको छ । कार्यक्रम तयारी र व्यवस्थापनका लागि अन्य विभिन्न उपसमिति गठन गरिएको र कार्यक्रमको एक साता पूर्व मिति सार्वजनिक गरिने थापा मगरले बताउनुभयो ।
प्रविधिमैत्री कांग्रेस अभियान निरन्तरता क्रममा ‘नेपाली कांग्रेस वृहत सूचना सञ्जाल’ गठन गरिएको छ । पार्टीको प्रविधि सम्बन्धी र सामाजिक सञ्जाल समन्वय सम्बन्धी कार्यमा सरिक सबैलाई संगठित गर्दै सञ्जाल कार्यक्रमको आचारसंहितासमेत पारित गरिएको विभागले जनाएको छ ।
विभाग सदस्य एवं पार्टीको प्रविधि र सामाजिक सञ्जाल उपसमितिका संयोजक ई दिपेश विष्टको संयोजकत्वमा सूचना सञ्जालको २७ सदस्यीय केन्द्रीय संरचना तथा ७ प्रदेश संरचना अलग्गै निर्माण गरिएको छ ।
प्रविधि मैत्री कांग्रेस अभियान निरन्तरता क्रममा पार्टीको प्रविधि र सामाजिक संजाल समन्वय सम्बन्धी कार्यमा कार्यकर्ताहरुलाई संगठित गर्दै तत्कालिन, अल्पकालिन र दिर्घकालिन प्रकृतिका कार्यमा केन्द्रीत गर्ने नीति विभागले लिएको छ ।
तत्कालिन काम अन्तर्गत पार्टीको १४ औं महाधिवेशनको प्रचार प्रसार गर्ने, अल्पकालिन काम अन्र्गत स्थानीय, प्रदेश र संघको आगामी महानिर्वाचनमा प्रविधि र आन्तरिक रणनीति मार्फत पार्टीको प्रचार एवं विपक्षी प्रहारको प्रतिवाद (‘वार रुम’ को संगठित अवधारणा बमोजिम) को कार्यमा महाधिवेशन पछिको पार्टीको प्रचार विभागलाई सहज बनाउने नीति लिईएको थापा मगरले बताउनुभयो ।
त्यसैगरी दीर्घकालिन काम अन्तर्गत पार्टीको विभिन्न तहलाई प्रविधि मार्फतको सहजीकरण र सामाजिक संजाल मार्फत सकारात्मक सामाजिक प्रभावका लागि दीर्घकालिन उपयोगमा केन्द्रीत रहने विभागले जनाएको छ ।
उत्साह, एकता र रुपान्तरणको भावना अनुरुप महाधिवेशनको महायज्ञमा सरिक हुन देशभरको पार्टी पंक्तिलाई अपील गर्ने निर्णय गर्दै बैठकले कोरोना महामारीबाट जोगिन भौतिक दुरी र अनिवार्य मास्क लगाउन आग्रह सहित ‘मास्क लगाऔं न ! ल !’ अपील पनि गरेको छ ।