पिएनजी विरुद्ध नेपालको संघर्षपूर्ण जित

भक्तपुर, भाद्र २२
नेपालले पपुवा न्युगिनीविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण एकदिवसीय क्रिकेट खेलमा संघर्षपूर्ण जित निकालेको छ । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र सोमपाल कामीको संयमित ब्याटिङले नेपालले २ विकेटको संघर्षपूर्ण जित निकालेको हो ।
पपुवा न्युगिनीको १३४ रनलाई पछ्याउने क्रममा नेपालले ३९.३ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको जितमा रोहित कुमारको ४१ र सोमपालको २२ रनको महत्वपूर्ण योगदान रहयो । रोहितले ६५ बलमा २ चौका सहित सर्वाधिक ४१ रनको योगदान दिए । सोमपाल ३२ बलमा १ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे । दुवैले आठौं विकेटका लागि ५२ रनको महत्वपूर्ण साझेदारी गरे ।
खेलमा नेपालले राम्रो शुरुवात गरेको थियो । युवा ओपनर आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई पहिलो विकेटका लागि ११.१ ओभरमा ४६ रनको साझेदारी गरेका थिए । २८ बलमा २ चौका प्रहार गरी १५ रन बनाएका कुशललाई चन्द सोपरले एलवीडब्लू आउट गर्दै पिएनजीलाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि नेपालले लगातार विकेट गुमाउन थाल्यो र एक समय ८२–७ को कठिन अवस्थामा पुगेको थियो ।


कुशलपछि अर्का ओपनर आसिफ शेख ४६ बलमा ४ चौका सहित ३० रनमा क्याच आउट भए । आसिफलाई डेमियन राभूले गौडी टोकाबाट क्याच गराएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा आउट भए । ज्ञानेन्द्र १७ औं ओभरमा राभूको बलमा एज लागेर विकेटकिपर किप्लिङ डोरिगाबाट क्याच आउट भए । २० बल खेलेका ज्ञानेन्द्रले बाउन्ड्री प्रहार गर्न सकेनन् । आरिफ शेख सोपरको बलमा ९ रनमा एलबीडब्लू आउट हुँदा नेपाल ६२–४ को अवस्थामा थियो ।
अनुभवी व्याट्सम्यान शरद भेष्वाकरपनि चल्न सकेन । उनी पनि ६ रनमा क्याच आउट भए । शरद नोसैना पोकनाको बलमा क्याच आउट भएका हुन । टोकाले २८ औं ओभरको पाँचौं बलमा कुशल मल्ललाई एक रनमा स्टम्पिङ आउट गरे । लगत्तै अर्को बलमा पवन सरार्फ गोल्डेन डक आउट हुँदा नेपाल २८ ओभरमा ८२–७ को संकटपूर्ण अवस्थामा पुगेको थियो । पिएनजीका गौडी टोकाले सर्वाधिक तीन विकेट लिए । डेमियन राभू र चन्द सोपरले दुई दुई विकेट लिए ।
त्यसअघि अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको पिएनजी ३३ ओभरमा १ सय ३४ रनमा अल आउट भएको थियो । पिएनजीका ओपनर लेगा सियाकाले सर्वाधिक ३० रनको योगदान दिए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।


पिएनजी विरुद्ध नेपाललाई युवा बलर विक्रम सोबले पहिलो सफलता दिलाए । उनले डेब्यु खेलको पहिलो बलमा नै विकेट लिन सफल भए । विक्रम ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गरेसँगै ओडिआई डेब्यूको पहिलो बलमै विकेट लिने नेपालका पहिलो खेलाडी बन्न सफल भए । समग्रमा उनी ओडिआई करीअरको पहिलो बलमै विकेट लिने विश्वकै २८ औं खेलाडी समेत बने ।
विकेटसँगै विक्रमले ओभर मेडन राखेका थिए । विक्रमले चौथो ओभरको अन्तिम बलमा कप्तान असाद भालालाई आरिफ शेखबाट चार रनमा क्याच गराउँदै नेपाललाई अर्को सफलता दिलाए । खराब सुरुवात गरेको पिएनजीलाई तेस्रो विकेटका लागि लेगा र चाल्र्सले ५० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

स्पिनर सन्दीप लामिछाने १२ औं ओभरको पाँचौं बलमा चाल्र्सलाई २३ रनमा आरिफ शेखबाट क्याच गराएपछि पिएनजीको गति आरोलो लाग्न थाल्यो । लगत्तै अर्को ओभरको पाँचौं बलमा ओपनर लेगा सियाका ३० रनमा कट एण्ड बोल्ड आउट भए । स्पिनर कुशल मल्लको बलमा ठूलो सट खेल्ने धुनमा लेगा टप एज लागेर क्याच आउट हुन पुगेका थिए । लेगाले ३८ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

सन्दीपले २० औं ओभरको पहिलो बलमा सेसे बाउलाई कुशलबाट १४ रनमा क्याच आउट गराए । बाउले २४ बलमा २ चौका प्रहार गरे । कुशलले विकेटकिपर किप्लिङ डोरिगालाई कुशल भुर्तेलबाट १५ रनमा क्याच गराए । सन्दीपले जेसन किलालाई शून्यमा एलबिडब्लू आउट गर्दा पिएनजी २३.३ ओभरमा ९७–७ को कमजोर अवस्थामा पुगेको थियो ।
सोमपाल कामीले २९ बलमा २ चौका प्रहार गरी २४ रन बनाएका गौडी टोकालाई भुर्तेलबाट क्याच आउट गरे । अन्तिम विकेटका लागि सन्दीपले नोसैना पोकनालाई एक रनमा एलबीडब्लू आउट गरेका थिए । चन्द सोपार ३३ बलमा १ चौका सहित १७ रनमा अविजित रहे ।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । विक्रम सोबले ५ ओभरमा १ मेडन सहित २० रन खर्चेर २ विकेट लिए । स्पिनर कुशल मल्लले ७ ओभरमा १ मेडन सहित १९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । नेपालले पिएनजीसँग दोस्रो ओडिआई खेल शुक्रबार खेल्ने छ ।
आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नु अघि नेपालले तयारी स्वरुप दुई ओडिआई खेल खेल्ने वातावरण मिलाएको हो ।