गायक प्रमोद खरेलको आवाजमा गीतकार श्रेष्ठको ‘बा आमा’(भिडियो सहित )

भक्तपुर, भाद्र २३
गायक प्रमोद खरेलको सुमधुर आवाज र विकास चौधरीको संगीतमा गितकार निश्चल श्रेष्ठको ‘बा आमा’ शिर्षकको गीत सार्वजनिक भएको छ । बाबु आमा प्रति सन्तानको भावना कस्तो हुनुपर्छ भन्ने विषयवस्तुमा तयार पारिएको गीत बा आमा कुशे औंसी, बाबुको मुखहेर्ने दिनलाई लक्षित गरी सार्वजनिक गरिएको हो ।
एउटा सन्तानले आफ्ना आमा बुबालाई कुन रुपमा देख्छन् र महसुस गर्छन् भन्ने भाव गीतमा गहन रुपमा प्रस्तुत गरिएको छ । ‘यो गीत, गीत मात्र होइन, मान्छेको सोच बदल्ने कडी पनि बन्न सक्छ,’ गीतका रचनाकार श्रेष्ठले बताउनुभयो ।
ग्लोबल प्रोडक्सन प्रा.लि.को युट्युब च्यानलबाट सार्वजनिक भएको गीत अहिले लिरिकल भर्सन छ भने चाँडै नै भिडियो निर्माणको क्रममा रहेको बताइएको छ । मिरा साउण्ड स्टुडियोमा रेकर्ड भएको यस गीतमा एरेन्जर रोशन बान्तवा, रेकर्डिष्ट सुबास कुथुमी राई, गीतार वर्क संजीव लिम्बु, ढोलक,तबला,मादल भरत बुढाथोकी, बाँसुरी संजीव मैनाली र मिक्सिङ गोविन्द सोनी गरेका हुन भने लिरिकल भिजुअल इडिट के.पी. देवकोटा तथा पोष्टर डिजाइन चिरंजीवी नौवागेले गरेका हुन ।
गीतको टिकटक प्रतिस्पर्धा पनि आयोजना गरेको श्रेष्ठले बताएका छन् । उत्कृष्ट तीन जनालाई पुरस्कार स्वरुप गीतको अफिसियल म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्रदान गरिने छ ।
विगत डेढ दशक देखि लामो संचार, सिनेमा र साहित्य क्षेत्रमा क्रियाशिल निश्चल श्रेष्ठका माया माया, पिरतीको खेल मैदान, नहेर त्यसरी, लुकी लुकी, कहाँ होला, अब हाम्रो मिलन हुन, लजाएर, लगायतका थुपै गीतहरु चर्चित छन् ।